आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापु संस्कृतिको रक्षार्थ वि.सं.२०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’भनेको काम र ‘पू’ भनेको बिउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मेहनती र पौरखको परम्परा नै ज्यापू संस्कृति हो ।
नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ ।
यस्तै आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।
किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउने चलन छ ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ ।
सानो हात्तीवनमा आज पूजाआजासहित उधौली पर्व मनाइन्छ । पूजापछि आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूणर्िमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् ।
पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।