सुन्दरकुमार चाैधरीकाे सपना सगरमाथासम्म 




तराईका धेरै ठाउँबाट हिमाल देखिँदैन। देखिए पनि त्यो टाढाको झल्को मात्र हो। यही भौगोलिक दूरीले तराईवासी र हिमालबीचको सम्बन्ध सधैं कमजोर रहँदै आएको छ। तर यही दूरी तोड्न खोजिरहेका छन् दाङको तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीका ६६ बर्षका सुन्दरकुमार चौधरी।

६६ वर्षको उमेरमा सगरमाथा चढ्ने तयारीमा रहेका चौधरी केवल साहसिक आरोही होइनन्, उनी राज्यको उपेक्षा, पहिचानको अभाव र स्वास्थ्य संकटविरुद्धको एउटा जिउँदो प्रश्न पनि हुन्।


२०४० सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल ओभरसियर उत्तीर्ण चौधरीले जीवनको लामो समय घर, सडक र संरचनाको लम्बाइ चौडाइ नाप्दै बिताए। तर ढल्कँदो उमेरमा उनले सगरमाथाको उचाइ नाप्ने सपना देखे।

उनका अनुसार “ हिमाल आरोहण व्यक्तिगत कीर्तिका लागि मात्र होइन। यसमा तीन महत्वपूर्ण उद्देश्य जोडिएका छन् । पहिलो, थरुहटलाई हिमालसँग जोड्ने पहिचानको सवाल। दोस्रो, थारू समुदायमा फैलिएको सिकलसेल एनिमिया, जसको उपचार राज्यले केवल रोकथाममा सीमित गरेको आरोप छ। तेस्रो, तराईका युवामा बढ्दो लागुऔषध दुर्व्यसन, जसप्रति राज्यको नीति र कार्यक्रम प्रभावहीन देखिन्छ ।


यहीबीच, चौधरीजस्ता व्यक्तिले आफ्नो व्यक्तिगत खर्च र समुदायको सहयोगमा राष्ट्रिय गौरवसँग जोडिने हिमाल आरोहण गरिरहेका छन्। मनास्लु आरोहणका लागि अनुमानित १६ लाख रुपैयाँ खर्च हुने बताइन्छ । सहयाेग कसरी जुटाउने सरकारी निकाय संग माग गर्ने साेचमा रहेको उनी बताउछन् ।

२०८० फागुनमा अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा चौधरीको जीवनको पहिलो हिमाली अनुभव थियो। प्रतिकूल मौसमका कारण आधारशिविर पुग्न नसके पनि यही यात्राले उनलाई हिमालतर्फ तान्यो। पछि उनले ६ हजार ९० मिटर अग्लाे लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरे। अन्नपूर्ण क्षेत्रबाट सुरु भएको उनको यात्रामा हालसम्म करिब १ हजार ७ सय किलोमिटर पैदल हिँडिसकेका छन्।


उतिबेला ६५ वर्षको उमेरमा हिमाल आरोहण गर्नु आफैंमा असाधारण कुरा हो। चौधरीको उदाहरणले देखाउँछ, समस्या उमेर होइन, अवसर र नीति हो।

२०२६ मा गोरखा जिल्लाको मनास्लु हिमाल र २०२७ मा सगरमाथा आरोहण गर्ने लक्ष्य चौधरीले राखेका छन्। यदि उनी सफल भए यो केवल व्यक्तिगत कीर्तिमान हुने छैन, यो थारू समुदाय र सिंगो तराईको प्रतिनिधित्वको ऐतिहासिक क्षण हुनेछ।

सुन्दरकुमार चौधरीको हिमाल यात्रा एउटा साहसिक कथा मात्र होइन। यो पहिचानको खोज, स्वास्थ्य अधिकारको माग र राज्यको जिम्मेवारीमाथिको प्रश्न हो। चौधरीको सगरमाथा सपना सफल हुन्छ कि हुँदैन त्यो भविष्यले देखाउनेछ। तर उनले उठाएका प्रश्नहरू अब बेवास्ता गर्न सकिँदैन।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्