संचारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले स्थानीय सरकारको नितीमा महिला पत्रकारका सवालहरु समेटिनुपर्ने बताउँनुभयो । स्थानीय तहले महिलाले चलाएका संचारमाध्यमलाई प्राथमिकतामा राख्न आग्रह गर्दै आफ्ना नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाहरुहरुको सवाल, मुद्धालाई पालना गर्नका लागि समेट्न आग्रह गर्नुभयो । संचार क्षेत्रमा काम गर्ने महिलाले सुत्केरी बिदा नपाउने, थोरै तलबमा काम गर्नुपर्ने बाध्यता, महिलालाई अवसर नदिने, पुरुषहरु मात्रै अगाडी सर्ने परम्परा रहेकाले स्थानीय सरकारले नीति बनाउँन आवश्यक रहेको बताउँनुभयो । सञ्चारिका समूह लुम्बिनी प्रदेश दाङले आयोजना गरेको तुलसीपुरमा स्थानिय तहमा संचार नितिको आवश्यकता र लैंगिक एवम् सामाजिक समावेशीकरणमैत्री संचार माध्यम निर्माणमा स्थानिय तहको भूमिका बिषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकार सुशिल बस्नेतले मिडियामा काम गर्ने महिलाहरुको सवालमा विषेश खालको निती बनाउँन आफनो तर्फबाट पहल गरिने बताउँनुभयो । विशेषगरी महिलाहरु संचार माध्यमा भोग्नु परेका समस्यालाई मध्यनजर गर्दै तुलसीपुर उपमहानगरपािलकाले बनाउँने नितीमा गहन रुपले अध्ययन गरि सल्लाह दिने बताउँनुभयो ।
राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेले महिलालाई अबसर दिएमा राम्रो काम गर्न सकिने भन्दै महिलाले दोहोरो भूमिका निभाउनुपर्ने भएकाले हरेक मिडिया महिलाका विषयमा गम्भीर हुनुपर्ने जरुरत रहेको बताउँनुभयो ।
तुलसीपुर उपमहानगरका प्रेस संयोजक गणेश आचार्यले स्थानीय तहमा संचार नीति र लैंगिकमैत्री संचार संस्था हुन आबश्यक रहेको बताउनुभयो । उहाँले देशमै पहिलो पटक तुलसीपुृरले मिडियाको वर्गिकरण गर्न थालेको बताउनुभयो । लोककल्याणकारी विज्ञापनमा रेडियो, टेलिभिजन, अनलाईन र पत्रपत्रिकालाई छनोट गरिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले समाजका अन्य निकायजस्तै सञ्चार क्षेत्रलाई पनि प्रोत्साहन र नियमन गर्ने निकाय स्थानीय सरकार नै भएकोले त्यसका लागि आवश्यक नीति नै निर्माण गरेर अघि बढ्न कार्यदल गठन गरिएको बताउनुभयो । उहाँले इथानिय पत्रकारहरुलाई प्रोत्साहन गर्न नितिगत रुपमा अघि बढेको पनि बताउनु भयो ।
कार्यदलले तुलसीपुरमा सञ्चालित सञ्चारगृहहरुले संघीय सरकार र प्रदेश सरकारबाट सेवा सुविधा लिएका छन् या छैनन् र स्थानीय सरकारले कुन कुरामा सहयोग गर्नुपर्ने हो लगायतका कुराहरुको अध्ययन गर्ने बताउनुभयो । साथै कार्यक्रममा उठाएका मागहरु पनि नीतिमा समेट्न प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजिकरण संचारिका समूह नेपाल दाङका अध्यक्ष रंजिता अधिकारीले गर्नु भएको थियो ।