
दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले आइतबार दिउँसो करिब ३ बजे घोराही उपमहानगरपालिका १५ भिंग्रेली होटल नजिकै पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा स्कुटरको पछाडि सवार लमही नगरपालिका–६ निवासी २२ वर्षीय अंकित चौधरी गम्भीर घाइते भएका थिए। घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।
प्रहरीका अनुसार स्कुटर अंकितका ५३ वर्षीय बुवा झपेन्द्र बहादुर चौधरीले चलाउनुभएको थियो। ट्रकको ठक्करबाट झपेन्द्र चौधरी पनि घाइते भएका छन्। उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।

