दाङमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने



दाङमा दुई दिने अनुसन्धानमूलक बृहत राष्ट्रिय सम्मेलन हुने भएको छ। राप्ती बबई क्याम्पस तुलसीपुरले आगामी चैत ६ र ७ गते ‘शिक्षा र अध्ययनका नतिजा सुधार्नकालागि अनुसन्धान र नवप्रवर्दनात्मक रणनीतिहरु’ विषयक सम्मेलन आयोजना गर्न लागेको हो।

क्याम्पस प्रमुख गणेश पार्धेका अनुसार सम्मेलनमा काठमाडौं, पोखरा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूका साथै अमेरिकाको क्यालिफोर्निया स्टेट विश्वविद्यालय र भारतका प्रतिष्ठित प्राज्ञिक वक्ताहरूको सहभागिता रहनेछ।

सम्मेलनमा विद्यार्थी विदेश पलायनका कारण, नेपालमा उच्च शिक्षा र रोजगारीका अवसर, ड्रपआउट समस्या र समाधान तथा अवसर पहिचानका विषयमा प्यानल छलफल हुनेछ। साथै शिक्षा, समाजशास्त्र, अर्थशास्त्र, भाषा लगायतका क्षेत्रमा नयाँ दृष्टिकोण र रणनीतिबारे बहस गरिने जनाइएको छ।

शिक्षा र शैक्षिक विधिमा सुधार तथा नवप्रवर्तनका लागि साझा प्लेटफर्म निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनमा १ सयभन्दा बढी सहभागी रहनेछन्। विद्यालयका शिक्षक, समाजका प्रमुख व्यक्तित्व तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन सक्नेछन्।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्