साझा जनप्रतिनिधिको रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्छु–शंकर पोखरेल



नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा ‘रोड सो’ को आयोजना गरेको छ । घोराहीको लखन पार्कबाट सुरु ‘रोड सो’ मा हजारौं समर्थकको सहभागीता रहेको थियो ।

क्षेत्र नम्बर २ का गाउँगाउँबाट आएका एमाले समर्थकले घोराही बजार भरिभराउ भएको थियो । ‘नेकपा (एमाले) जिन्दावाद, दाङले के भन्छ ? शंकर पोखरेल ले भन्छ’ जस्ता नारा लगाउँदै समर्थकहरुले घोराहीका सडक गुञ्जाएमान बनाएको थिए ।

घोराहीको दिपशीखा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताउनु भयो ।

दाङको समृद्धिका लागि संकल्प पत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै उहाँले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गर्नुभयो ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याउनु भयो । केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने पोखरेलको भनाइ थियो ।

दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताउनु भयो ।

पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गर्नु भयो । उहाँले दाङलाई लुम्बिनी प्रदेश को राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरिएको उल्लेख गर्नु भयो ।

संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याउनु भयो । साथै घोराही–लमही सडकखण्डअन्तर्गत अर्जुनखोला–मसौट र चौपट्टा खण्डका चारलेन सडकको डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो ।

औद्योगिक विकासतर्फ ३५० बिगाहा क्षेत्रफलमा घोराही औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढेको र डिपिआर तयारी भइरहेको जानकारी दिँदै उहाँले ग्वार खोला हाई ड्याम तथा माडी डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन र अध्ययन कार्य सुरु भएको बताउनु भयो ।

स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको उनले उल्लेख गनु भयो । लमहीमा ट्रमा सेन्टर स्थापना प्रक्रिया अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्र सेवा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।

उच्च शिक्षातर्फ त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान घोराही क्याम्पस निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको उहाँको भनाइ छ । यसले दाङलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने आधार तयार भएको उहाँले बताउनु भयो ।

कृषि तथा सामाजिक पूर्वाधार क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत् उत्पादन वृद्धि र किसानको आयवृद्धिमा उपलब्धि हासिल भएकोे जानकारी दिनु भयो । पर्यटन तथा धार्मिक क्षेत्रको विकासतर्फ अम्बिकेश्वरी मन्दिर, छिल्लिकोट र धारपानीलगायत स्थानमा पूर्वाधार विस्तार गरिएको उहाँँले बताउनु भयो । भूमिहीनलाई लालपुर्जा वितरणका लागि आयोग गठन गरी काम सुरु गरिएको पनि उहाँले उल्लेख गर्नु भयो ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्