
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ। ६९औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले केही गलत नियतका सहकारीका कारण समग्र क्षेत्र बदनाम भइरहेको उल्लेख गर्दै नियमन कडाइ गरिएको जानकारी दिनुभयो।
उहाँले सहकारीले सर्वसाधारणलाई ऋण तथा आर्थिक सहयोगमा सहजता दिएको र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो। कृषि तथा सहकारी मन्त्री दिनेश पन्थी ले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रोत्साहन र नियमन दुवै पक्षमा काम भइरहेको जानकारी दिनुभयो।
प्रदेशमा ८४८ सहकारी संस्था सक्रिय रहेका छन् भने ३३ सहकारीविरुद्ध उजुरी परेको छ। तीमध्ये ८ विरुद्ध अदालतमा मुद्दा दायर, ७ सँग बचत फिर्ता सम्झौता, र १२ सहकारीमाथि थप अनुसन्धान भइरहेको छ।
कार्यक्रममा विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ।

