ड्राइभिङ स्कुल संघ नेपाल जिल्ला कार्यसमिति दाङको दोस्रो साधारणसभा सम्पन्न



ड्राइभिङ स्कुल संघ नेपाल जिल्ला कार्यसमिति दाङको दोस्रो साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ।
राप्ती ड्राइभिङ स्कुल संघ नेपालका अध्यक्ष झक्कु प्रसाद बुढाथोकीको अध्यक्षता तथा यातायात व्यवस्था कार्यालय तुलसीपुरका कार्यवाहक प्रमुख तारा प्रसाद शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सवारी चालक उत्पादनमा ड्राइभिङ स्कुलहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चालकलाई सीपयुक्त, जिम्मेवार र अनुशासित बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि गुणस्तरीय सवारी प्रशिक्षण र ट्राफिक नियमको पूर्ण पालना आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, ड्राइभिङ स्कुल संघ नेपालका केन्द्रीय सल्लाहकार लालचन्द्र बन्जाडेले ड्राइभिङ स्कुलहरूको हकहित संरक्षण, संस्थागत विकास र व्यवसायलाई व्यवस्थित बनाउन संघ एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

ड्राइभिङ स्कुल संघ प्रदेशका उपाध्यक्ष ऋषिराज लहरे “अरुण”ले ड्राइभिङ पेसालाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत व्यवस्था तथा राज्यको सहयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले चालक प्रशिक्षणको गुणस्तर अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

यस्तै, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक शम्भु धितालले सडक दुर्घटना न्यूनीकरणका लागि चालकहरूमा ट्राफिक नियमसम्बन्धी ज्ञान, अनुशासन र जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभयो। उहाँले सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा ड्राइभिङ स्कुल व्यवसायसँग सम्बन्धित विभिन्न विषय, संस्थाको सुदृढीकरण तथा चालक प्रशिक्षणलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार उमा भण्डारीले गर्नुभएको थियो।

साधारणसभाले दाङ ड्राइभिङ सेन्टर संघ नेपाल नामलाई शंसाेधन गरि राप्ती ड्राइभिङ स्कुल संघ नेपाल राख्ने निर्णय गरेकाे छ ।

यस्तै झक्कु प्रशाद बुढाथोकीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा  दाेर्ण बहादुर केसि, सचिवमा सुदर्शन बस्याल, सह- सचिवमा दिपक पाण्डे , काेषाध्यक्षमा बालाराम डांंगि र सह- काेषाध्यक्षमा ललित खड्का रहनु भएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्