
लामो समयदेखि अलपत्र रहेको घोराही-तुलसीपुर चारलेन सडक खण्ड विस्तारको लागि करिब चार अर्ब बजेट सुनिश्चित भएको छ ।
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेखी घोराही-तुलसीपुर चारलेन सडक खण्ड विस्तारका लागि बजेट सुनिश्चित भएको जानकारी गराएको हो ।
मदन भण्डारी राजमार्गअन्तर्गत ३ अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षीय ठेक्काको स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालय समक्ष पत्र पठाएको थियो । अर्थ मन्त्रालयले सोही बजेटमा आधारित रहेर बहुवर्षीय योजना अन्तर्गत घोराही तुलसीपुर सडक खण्ड विस्तारका लागि सहमति प्रदान गरेको छ । सो सडक खण्डको २१ दशमलब ५८ किमी क्षेत्रमा काम हुनेछ ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेसँगै सडक विस्तारको काम नेपाल सरकारकै लागतमा हुने निश्चित भएको हो । यसअघि भारतीय एक्जिम बैंकको लगानीमा निर्माण हुन थालेको चारलेन सडक लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारणले शास्ती बेहोर्नु परेको थियो ।
सरकारले यसअघि नै उक्त ठेक्का सम्झौता तोडिसकेको थियो । लामो समयसम्म सडक विस्तार अलपत्र परेपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री कार्यालय तथा अर्थमन्त्रालयमा निरन्तर बजेट सुनिश्चितताका लागि पहल गरिरहनुएको थियो ।


