
दंगीशरण गाउँपालिकामा भूमि समस्या समाधान आयोगअन्तर्गत दंगीशरण गाउँपालिकास्तरीय सहजीकरण समिति गठन गरिएको छ । हिजो बुधबार सरोकारवालाबीच गरिएको अन्तत्र्रिmया कार्यक्रममा समिति गठन गरिएको हो ।
समितिको संयोजकमा गाउँपालिका अध्यक्ष शम्भु गिरी, गाउँपालिका उपाध्यक्ष पिमाकुमारी वली उपसंयोजक र प्रमुख प्रशाशकीय अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो ।
दंगीशरण गाउँपालिकामा भूमिहीन दलित एक सय ६३, भूमिहीन सुकुम्बासी एक सय ९५ तथा अव्यवस्थित बसोवासी तीन हजार चार सय ४६ गरी तीन हजार आठ सय चारजना रहेको भूमि आयोग समाधान समितिका पालिका फोकलपर्सन बिनोद अधिकारीले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बस्नेतले वडाध्यक्षहरुको लगनशीलता र क्रियाशीलताले मात्रै तोकेको समयमा भूमिहीन सुकुम्बासीलाई भूमि प्रदान गर्न सम्भव हुने बताउनुभयो । उहाँले भूमि समस्या समाधानका लागि आयोगले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा समितिका संयोजक एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जनशक्ति बढाएरै भए पनि भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रतिबद्धता जनाउनुभयो । यसलाई सहज र छिटो छरितो गर्न दंगीशरण गाउँपालिकामा क्रियाशील राजनीतिक दल र सरोकारवालाहरुबीच छलफल भएको थियो ।

