दाङको तुलसीपुर उपमहानगरपालिकाले भूउपयोग वर्गीरकणको काम सम्पन्न गरेको छ ।
उपमहानगर प्रमुख टिकाराम खड्काले मुख्य बाटोमा १०० मिटर र भित्रि बाटोमा २० देखि ५० मिटरसम्म आवासीय र व्यवसायीक जग्गा वर्गीकरण गरेर त्योभन्दा पछाडिको जग्गालाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको बताए । सबै वडाका स्थानीयहरूसँग छलफल गरेर सहमतिमै जग्गाको वर्गीकरण गरिएको उनको भनाइ छ ।
उपमहानगरका नापी अधिकृत प्रदिप ज्ञावलीका अनुसार नगरभित्र ३२ प्रतिशत कृषियोग्य जग्गा कायम गरिएको छ । नापी विभागले २०७५ सालमा लिएको स्याटलाइट इमेजमा कृषियोग्य जग्गाको क्षेत्रफल ४७ प्रतिशत हाराहारी रहेको थियो ।
अहिले वर्गीकरण गर्दा १०/२० वर्ष पछिसम्मलाई आवाश्यक पर्ने आवासीय जग्गा छुट्ट्याएर बाँकी जग्गालाई मात्रै कृषियोग्य जग्गामा वर्गीकरण गर्दा कृषि क्षेत्रको क्षेत्रफल १५ प्रतिशत घटेको उनको भनाइ छ ।
कृषिको पकेट क्षेत्र बनाउन मिल्ने क्षेत्र
कुल ३८४ वर्गकिलोमिटर क्षेत्रफल रहेको उपमहानगरमा १२४ वर्गकिलोमिटर अर्थात १८ हजार ३०९ बिगाह कृषियोग्य जग्गा रहेको छ । त्यसमध्ये ३ हजार ६९१ बिगाह जग्गालाई कृषिको पकेट क्षेत्र नै घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
स्थानीय तहले चाहेमा ६ महीना होइन २ महीनामै पनि भूउपयोग वर्गिकरणको काम पुरा गर्न सक्छन् भन्ने उदाहरण तुलसीपुर उपमहानगरले दिएको छ । तुलसीपुरबाट अरू स्थानीय तहले पनि पाठ सिकेर काम गर्नुपर्ने देखिन्छ ।
सबैभन्दा पहिलो भूउपयोग वर्गीकरण गर्नेमा सम्भवत तुलसीपुर पहिलो स्थानीय तह भएको नगरापलिकाको भनाइ छ । कृषियोग्य जग्गै छैन भनेर सबै जग्गा गैरकृषिमा वर्गीकरण गर्नेमा भने काठमाडौं उपत्यकाका स्थानीय तह तुलसीपुरभन्दा अघि देखिएका थिए ।
तुलसीपुर बजार क्षेत्र
कसरी सम्भव भयो सहजै वर्गीकरण ?
नापी अधिकृत ज्ञावलीका अनुसार नगरपालिकाले सबै वडामा सर्वपक्षीय/सर्वदलीय बैठक गरेर सहमतिमै जग्गाको वर्गीकरण गरेको हो ।
सानातिना असन्तुष्टी भएपनि जग्गाको वर्गीकरण नै गर्न नदिने वा यो वर्गीकरण मान्दै मान्दैनौ भन्ने ढिपी कसैले पनि नगरेको उनको भनाइ छ ।
वडा तहबाटै समन्वय गरेर काम गर्दा सहजै वर्गीकरण गर्न सकिएको ज्ञावलीको भनाइ छ ।
नगरपालिकाले जग्गाको वर्गीकरण गर्ने काम पुरा गरेपनि त्यो कार्यान्वयनमा भने आइसकेको छैन । तर स्थानीय भूउपयोग परिषदले उक्त वर्गीकरण अनुमोदन गरिसकेकाले छिट्टै कार्यान्वयनमा आउने नगरपालिकाको विश्वास छ ।
यस्ता मापदण्ड बनाएर वर्गीकरण
नगरपालिकाले सबैभन्दा ठूला राजमार्गको दायाँ बायाँ १००/१०० मिटरसम्म आवासीय/व्यवसायीक क्षेत्र छुट्ट्याएर बाँकी रहेको ठाउँलाई कृषि क्षेत्रमा वर्गीकरण गरेको छ । केही सडकको दायाँ बायाँ भने ८०/८० मिटरसम्म आवासीय क्षेत्र राखिएको छ ।
वडा अनुसार कृषि क्षेत्रको क्षेत्रफल
भित्रि सहायक बाटोमा भने बाटोको चौडाइ अनुसार २०, ३५ र ५० मिटर दायाँ बायाँसम्म आवासीय क्षेत्रमा वर्गीकरण गरेर बाँकी रहेको ठाउँलाई कृषि क्षेत्रमा वर्गीकरण गरेको छ ।
कृषियोग्य भित्र पनि पकेट क्षेत्रको वर्गीकरण
नगरपालिकाले कृषि क्षेत्र भित्र पनि कृषिका विभिन्न पकेट क्षेत्र घोषणा गरेको छ । चक्लाबन्दी गरेर व्यवसायीक खेती गर्न प्रोत्साहन गर्ने उदेश्यले पकेट क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । दुई बिगाह भन्दा बढी क्षेत्रफल भएका जग्गालाई चक्लाबन्दी वा सहकारी खेती गर्न प्रोत्साहन गर्ने नगरपालिकाको योजना छ । तुलसीपुर बजार रहेको वडा नम्बर ५ र ६ बाहेकका वडामा कम्तिमा एउटा देखि बढीमा १० ओटासम्म कृषि पकेट क्षेत्र छुट्ट्याइएको नापी अधिकृत ज्ञावलीले बताए । त्यस्ता पकेट क्षेत्र धान, गहुँ, मकै, लगायत पशुपालनका र मत्स्यपालनका लागि छुट्ट्याउने नगरपालिकाको योजना छ ।
साभार : आर्थिक अभियान