दाङमा विधार्थीलाई कुट्ने शिक्षक पक्राउ



 

दाङको देउखुरीमा एक विद्यार्थी शिक्षकबाट निर्घात रुपमा कुटिएर गम्भीर घाइते भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिनु भएको हो ।

जनज्योती मा।वि बेला कक्षा १२ मा अध्यनरत विद्यार्थी मन्साराम यादवसँग शिक्षक पाटेश्वर यावदकी १८ वर्षीय छोरी सुनिता यादवको प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि शिक्षक पाटेश्वर यादवले योजनाबद्ध रुपमा कुटपिट गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

यादवमाथि चिर्पट, लात्ति र मुक्का प्रहार गरी गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया निवासी १९ वर्षीय मन्साराम यादवलाई प्रेमीका सुनिताले गत साउन २० गर्ते राती नाच हेर्न आउ भनि बोलाएको पाइएको छ ।

नाच हेर्नकै लागि यादव खरदरीयाबाट साइकलमा बेला चोकमा आएको प्रहरीको भनाई छ । सुनिताको बुवा पाटेश्वर यादवले फोन गर्न लगाएको र यो योजना दुई तीन दिन अगाडिबाट बनेको बुझिएको छ ।

बेला चोकमा मन्साराम पुग्ने वित्तिकै उहा माथि आक्रमण भएको प्रहरीले बताएको छ । मन्सारासंगै पुगेका साथीहरु भागेर ज्यान बचाउन सफल भएका छन् । मन्सारामलाई भने बेला चोकबाट निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टा, शरिरको लगायतमा मराशन्न हुनेगरी पुनः कुटपिट गरेको प्रहरीले जनाएको छ ।

मन्सारामलाई कुटपिट गरेको आरोपमा शिक्षक पाटेश्वर यादव र यादवका दाइ धीरबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न ३ जना फरार रहेको गढवा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई म्याद थप गरि अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात् यादवलाई निर्घात रुपमा कुटपिटपछि नक्कली कागज बनाइएको खुल्न आएको छ । पाटेश्वर यावद लगायत आफन्तहरुले पीडित यावदलाई रातीको समयमा चोरी गर्न आएको हुँ भन्ने स्वीकार्न बाध्य बनाइ नक्कली कागज बनाइएको प्रहरी अनुसन्धानमार्फत जानकारी दिएको छ ।

योजनाबद्ध रुपमै बनाइएको कागज घटनास्थलबाट गढवा प्रहरीले फेला पारेको हो ।
गढवा प्रहरीका अनुसार म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारी सामान्य कुटपिट गरेको र प्रहरीमा उजुर गर्ने छैन, गरेमा यसै कागजलाई आधारमानी कुनै मुद्दा मामिला हुने छैन भनि नक्कली कागजमा लेखिएको छ ।

निर्घात रुपमा कुटपिट गरि राती १२ः ३० बजे राजपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामप्रसाद यादवलाई ती युवतीका आफन्तहरुले फोन गरेको पाइएको छ । वडाध्यक्ष रामप्रसाद यादवका अनुसार मन्साराम यावद पाटेश्वर यादवको घरमा पैसा चोर्ने उद्देश्यले घरमा पसेको र त्यसलाई हामीले छोपेर राखेका खबर मैले पाएको उहाले बताउनुभयो ।

त्यसपछि तुरुन्तै पाटेश्वरको पुग्दा मन्साराम यादव रक्ताम्य भएको अवस्थामा भेटिएको उहाको भनाई छ । कुटपिट पछि घाइते भएका यावदलाई घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगंज नर्सिङ होम अस्पतालमा उपचार भइरहेको स्थानीय पत्रकार शिवु खनालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्