अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन दाङमा हुने



अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अधिवेशन दाङको घोराहीमा हुने भएको छ । सोमबार र मंगलबार घोराहीस्थित सभागृहमा हुने प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल किसान महासंघ प्रदेश कमिटीले जनाएको छ ।
किसान महासंघ प्रदेश अध्यक्ष आरती पौडेलको अध्यक्षता तथा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको विशेष उपस्थितीमा भएको पत्रकार सम्मेलनमा महासंघका विभिन्न २२ वटा विषयगत समितिले गर्दैआएका काम र संगठनात्मक अवस्था सुधारसहित किसान हकहीतका सवाल अधिवेशनमा उठान हुने बताईएको छ । अधिवेशनका बारेमा जानकारी गराउँदै प्रदेश अध्यक्ष पौडेलले लुम्बिनी प्रदेशभरका प्रत्येक पालिकाका १ हजार १ सय ४४ प्रतिनिधि र पर्यवेक्षकहरुकाे सहभागीता रहने बताउनुभयो ।
उहाँले हरेक पालिकाका किसानका मुद्दा उठान गर्न, ७६ प्रतिशत किसान अहिले पनि कृषि पेशामा आवद्ध रहेको अवस्थामा किसानलाई कृषि पेशामा दीगो रुपमा लाग्न हौसला दिने कार्यक्रम ल्याउन किसान महासंघले उठाउँदै आएका मूल मुद्धालाई निरन्तरता दिनुका साथै वर्तमान अवस्थामा देखा परेका थप समस्यापनि अधिवेशनका माध्यमबाट पारित गर्दै सरकार समक्ष समस्या समाधानका लागि पहल हुने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा मह, कुखुरा, अण्डालगायत क्षेत्रमा आत्मनिर्भरको अवस्था भएपनि अझै फलफुल, मसलालगायतको उत्पादन अवस्था कमजोर रहेको हुँदा किसानका योजना सरकारसम्म पुर्याउन र विषयगत संघले ल्याएका समस्यालाई सरकारसमक्ष पुर्याउन अधिवेशनले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तरकारी, माछा, कुखुरा, महलगायत विषयगत संघलाई जोडेर बनेको किसान महासंघले प्रदेशको जल्दाबल्दा समस्या उठान गर्ने हुँदा युवा पलायन रोक्न, सीपको उपयोग देशमै गर्न सक्ने गरि वातावरण बनाउन अधिवेशन सफल हुने महासंघकी केन्द्रीय कमिटी उपमहासचिव सरिता भुसालले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले हिजोका दिनमा राजनीतिक आन्दोलनले स्थान पाउँदा किसान आन्दोलन पछि परेको बताउनुभयो । अब किसानका मुद्धालाई राजनीतिक रुपमा अघि बढाउने, किसानलाई उत्पादनमा जोडिन पहल गर्ने, किसानका अधिकार स्थापनाका लागि पहल गर्ने, खाद्य सम्प्रभुता उठान गर्ने, दाङ घोषणा पत्र तयार गरि सरकारलाई ध्यानाकर्षणका रुपमा ज्ञापन पत्र बुझाउने तयारी रहेको जानकारी गराउनुभयो ।
महासंघको उदघाटनका लागि एमाले पार्टीको मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, महासंघका केन्द्रीय उपाध्यक्ष खड्कबहादुर खड्का र महासचिव बाबुराम थापा, पार्टीका नेताहरु आउनुहुने भएको छ । सो अधिवेशनमा हरेक स्थानीय तहको विशेषता झल्कने किसानका स्टल राख्ने, जिल्लाको पहिचान प्रवर्द्धन गर्ने काम पनि हुने बताईएको छ । पत्रकार सम्मेलनको सहजीकरण लुम्बिनी प्रदेश अखिल नेपाल किसान महासंघका सचिव महेन्द्र गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्