आमा दिपा वलीको नाममा थारु र दलित समुदायका छोरीहरुका लागि २० लाख बराबरको अक्षय कोष ः कोमल वली



नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँ बराबरको अक्षय कोष खडा गर्ने भएको छ । स्वर्गीय दीपा वलीको नवौँ पूण्यतिथिका दिन छोरी कोमल वलीले २० लाख बराबरको अक्षय कोष खडा गर्ने घोषणा गर्नुभएको हो।

नेकपा एमाले दाङ जिल्ला कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले उक्त रकमबाट थारु समुदाय र दलित समुदायका छोरीहरुको कक्षा ८ देखि स्नातकोत्तर तह सम्मको अध्ययनका लागि खर्च गरीने बताउँनुभयो । यस्तै उक्त कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट राजनीतिमा लागेर समाज रुपान्तरणमा अतुलनीय योगदान दिएका तर, लाभको पदमा नपुगेका महिलाहरुलाई सम्मान गर्ने समेत उहाँले बताउँनुभयो।

स्वर्गीय दिपा वलीले गीत संगीतका क्षेत्रमा पनि योगदान दिनुभएको छ। उहाँका दुई दर्जन गीत रचना र भाका संकलन गरेको गित मध्ये कोमल वलीको स्वारमा सजिएको ‘मलमलकिरी जुनकिरी’ चर्चीत भएको थियो ।

त्यसबाहेक ‘सयपत्री उनेर लाउने बेलामा’, ‘नबुन ज्ञानी हजारीको’, ‘आँखै लाउने गाजलु’, ‘पढ छोरी, बढ छोरी’ लगायतका गीत पनि दीपाकै रचना हुन् । उनका गीत रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङ लगायतमा रेकर्ड भएका छन् । तीज गीत, बाल गीत, राष्ट्रिय गीत, देउसी भैलो लगायतका गीत स्व. दीपा वलीले रचना गरेका गितहरु छन् । परिवारले दिएको जानकारी अनुशार स्व. वली पञ्चायतकालमा महिला संगठनको लुम्बिनी अञ्चल उपसभापति हुनुभएको थियो ।

वलीको गत मंसिर २ गते शनिबार ८२ वर्षको उमेरमा निधन भएको थियो । स्व. वलीका श्रीमान, जेठा छोरा यामिन्द्र वली, कान्छा छोरा नरेन्द्र वली ,जेठी छोरी कोमल वली र कान्छी छोरी प्रज्ञा ‘शरद’ गरि दुई छोरा दुई छोरी छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्