सि.एम विश्वकर्मा
नेपालमा पछिल्लो समयमा उच्च शिक्षा हासिल गर्ने बाहनामा होस या वैदेशिक रोजगारीको बाहनामा होस । प्रायः युवा विद्यार्थीहरु देश छोड्नेमा छन् । देशको राजनीतिक अवस्था, बढ्दो वेरोजगार, बढ्दो महंगी र हरेक विकासका कामकाजमा चरम भष्टचार प्रति वाक्क दिक्क हुनु र पारिवारिक समस्याले पनि देशमा बस्न अब ठिक छैन भन्ने सोचका साथ नेपालका युवा विद्यार्थीहरू विदेश पलायन हुने लर्को झनै बढ्दो छ ।
पढेलेखेका युवा उच्च शिक्षाका लागि भनेर अमेरिका, अस्ट्रेलिया, जापन ताक्छन् । ग्रामीण युवा रोजगारीका लागि अरबका खाडी मुलुक र मलेसिया, दक्षिण कोरिया पुग्छन् । गत आर्थिक वर्ष मात्रै यसरी बिदेसिनेको संख्या झन्डै ८ लाख पुगेको छ । तीमध्ये कतिपय मानव तस्करीको जालोमा फस्छन् र जीउधन दुवै गुमाउँछन् । अर्कोतर्फ, देशभित्र युवाशक्तिको अभाव बढ्दो छ ।
गाउँका गाउँ रित्तिएका छन् । गाउँमा विकसित हुँदै गएका कृषि सहकारी, पशुपालन, तरकारी खेती लगायत कृषि व्यवसाय संकटग्रस्त हुन थालेका छन् । विदेशी मुद्रा शोधनान्तर स्थिति धान्ने ठूलो स्रोत सिद्ध भएको वैदेशिक रोजगारी अब निकै नाजुक राष्ट्रिय समस्या बन्न पुगेको छ ।
आजभोलि ८र१० कक्षामा पढ्दै गरेका धेरै युवा विद्यार्थीहरुले १२ पास गरिसकेपछि देश छोड्ने सपना बुनिसकेका छन् भने कतिपय युवा विद्यार्थीकै बाबुआमाले समते देशमा भविष्य सुरक्षित छैन भनेर छोराछोरी १२ पास हुनेसाथ काठमाडौं आयल्स गर्न लगाएर विदेश पठाईहाल्छु भन्ने कल्पना गरि बसिसकेका छन् ।
देशमा राजनैतिक गर्ने नेता, प्रधानमन्त्री, मन्त्री, सांसद, देशको सेवामा खटिएका राष्ट्र सेवक कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत अन्य अलि हुनेखानेहरु समेतले देशमा भविष्य छैन। आफै देश हाकिरहेका छन् तर छोराछोरीको भविष्य अन्धकार देखिरहेकाहरुले आफ्ना छोराछोरी लगभग विदेश पठाईसकेका छन् र पठाउने क्रम जारी दखिन्छ । अर्को तिर युवा देशका खम्बा हुन, युवा नै हरेक क्षेत्रमा आबद्ध हुनुपर्छ भन्ने नारा लगाउदै गरिवका छोराछोरीलाई पार्टि वा संगठनको झण्डा बोकाईरहेका छन् । अन्तिममा आएर तिनै गरिवका छोराछोरी पनि यो परिवेश बुझेर खाडिमुलुकका देश भएपनि विदेश पलायन भएका छन् र हुने लर्को छ ।
देशमा कुनै युवा विद्यार्थीको बस्न मनै छैन भने म कसरी बसुँ । अचेल मेरो मन यसरी हलचल भैईरहेको छ । म आफैले व्यवस्थापन संकायमा स्नातक पास गरेको युवा हुँ । केही जागिर सँगसँगै तरकारी फर्म संचालन गरेर यहाँ सम्म त आईपुगेको छु । तर उत्पादित तरकारीले भनेको मूल्य नपाउनु, बजार नपाउनु, बजार पाएपनि तरकारी व्यवसायीहरु सँग मेरो तरकारी राखिदिनुस भनेर मरिहत्ते गरिगरि दिनुपर्ने, रोग तथा प्राकृतिक प्रकोपका कारण विस्तारै विस्तारै जागर हरिदै छ जुन तरकारी व्यवसायी घट्दै क्रममा छ । उधम र उधमशीलताका कुरा गर्दा र म यी कामहरु गर्दै गर्दा मेरा पछिका भाईबहिनीहरुलाई पढ्नुपर्छ र देशमै केही गर्नुपर्छ भनेर मैले अस्ति हौसला दिएका भाईबहिनीहरुलाई आज तिनै भाईबहिनीहरुले दाई म कुन देश जाम, कुन देश जादाँ ठिक हुन्छ भनेर सोधिरहेका छन् । ती भाईबहिनीहरुलाई म के जवाफ दिऊँ । कुन देश ठिक छ भनिदिऊ सरकार ?
यस्तो अबस्थामा देशमै मेरो भविष्य खोज्ने कि विदेशमा मेरो भविष्य खोज्ने ? म अचेल सोचिरहेको छु । अर्को तर्फ फेरि सोच्छु, सबै युवाहरु विदेशमा गए भने देशमा कसले गरिदिन्छ, देशमै केही गर्छु त भन्छु । जब नेता, मन्त्री, सांसद र अलि हुनेखानेहरुले आफ्नो छोराछोरीलाई विदेश पठाउदै गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोटो खिचेर सामाजिक संजालमा हालेको देख्छु । अनि लाग्छ देशको बारेमा सोच्ने मेरो मात्रै ठेक्का हो र ? कि गरिवका छोराछोरीको मात्रै दायित्व हो ?
त्यसैले पुन ः भन्छु सरकार मेरो भविष्य देशमै छ ? कि विदेशमा।