गुरुकुल एकेडेमी तुलसिपुरमा कविता लेखन प्रशिक्षण सम्पन्न



दिपक वली

गुरुकुल एकेडेमी तुलसिपुरद्वारा आयोजना गरिएको कविता लेखन प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ।  कार्यक्रममा नेपाली साहित्यका प्रतिष्ठित साहित्यकार तथा लेखक, गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीले प्रशिक्षण दिनुभएको थियो।

तालिमको उद्देश्य युवामा साहित्यिक प्रतिभा अभिवृद्धि गर्नु र कविता लेखनका विविध प्रविधिहरूको बारेमा जानकारी दिनु थियो। यस कार्यक्रममा गुरुकुल एकेडेमी तुलसिपुरका करीव ८० जना विद्यार्थी र साहित्यप्रेमी शिक्षकहरू सहभागी भएका थिए । प्रशिक्षणको दौरानमा, प्रशिक्षक डा. कृष्णराज डिसीले कविता लेखनको आधारभूत सिद्धान्त र सृजनात्मक प्रक्रियाबारे विस्तारमा जानकारी गराउनुभयो।

तालिममा सहभागीहरूलाई कविता लेखनमा रचनात्मक सोच र अभिव्यक्तिको स्वतन्त्रता कसरि अभ्यास गर्ने भन्ने बारेमा ज्ञान प्रदान गरिएको थियो। डा. डिसीले कविता लेख्नका लागि प्रकृति, समाज र व्यक्ति बीचको सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि विचारहरू र काव्यशैलीको महत्त्व पनि प्रस्ट पार्नुभयो। साथै, प्रशिक्षकले कविता लेखनको क्रममा आउने चुनौतीहरू र त्यसलाई पार गर्ने तरिका पनि सुझाउनुभयो। सहभागीहरूलाई आफ्ना भावना र विचारलाई कविता मार्फत व्यक्त गर्नको लागि उत्साहित गर्नुभयो।

तालिमको अन्त्यमा, सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यस कार्यक्रमले कविता लेखनको क्षेत्रमा युवालाई थप आकर्षित गरेको छ र भविष्यमा अझ धेरै रचनात्मक कामहरूको सम्भावना सिर्जना गरेको छ।

प्रशिक्षण कार्यक्रममा विद्यार्थिहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी विद्यार्थिहरुको कविता लेखन क्षमता बृद्धि गर्न यो कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । प्रधानाध्यापक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सह प्रधनाध्यापक ज्ञानेन्द्र बुढाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्