
तुलसीपुरमा फौजदारी न्याय अदालत अभ्यास प्रतियोगिता गरिएको छ । प्रतियोगितामा हिमाल एकेडेमी प्रथम भएको छ भने माध्यमिक विद्यालय रझेना उपबिजेता भएको छ । प्रथम हुने हिमाल एकेडेमीले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता हुने रझेनाले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा काल्पनिक घटना एक किशोरीको रहस्यमय मृत्यु प्रकरणबारे बहस गरिएको हो । वादीको तर्फबाट हिमाल एकेडेमी र प्रतिवादीको तर्फबाट मावि रझेनाले बहस गरेको हो । तुलसीपुर मेट्रो कलेज कानुन संकाय दोस्रो ब्याचको आयोजनामा मेट्रो कलेज फौजदारी न्याय अदालत अभ्यास प्रतियोगिता गरिएको हो ।
प्रतियोगितमा कक्षा ११ र १२ मा कानुन पढ्ने १२ विद्यालय सहभागी थिए । कार्यक्रममा उच्च अदालत उपन्यायधिवक्ता जयप्रसाद धिताल र वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल न्यायाधीशको भूमिकामा हुनुहुन्थ्यो । विद्यार्थी छवि रावतको अध्यक्षता तथा कलेज संचालक समिति अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले जित–हार स्वाभाविक भए पनि निरन्तर मेहनत गर्ने व्यक्तिले मात्र सफलता पाउने धारणा व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता डिल्लीराज धितालले कानुन पढ्ने विद्यार्थीहरू अझ परिस्कृत हुँदै जानुपर्ने सुझाव दिँदै कसैको क्षमता केवल अंकमा मात्र मापन गर्न कठिन हुने उल्लेख गर्नुभयो ।
न्यायिक समिति सदस्य देवी पोखरेलले फौजदारी न्याय अदालत अभ्यास प्रतियोगिताले विद्यार्थीको सिकाईलाई निखारता ल्याउने बताउनुभयो । प्रतियोगितामा मावि रझेनाकी सुस्मीना श्रेष्ठ उत्कृष्ट वक्ता घोषित हुनुभयो । सुस्मीताले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

