दाङमा बाघको आक्रमणबाट एक महिला घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका वडा नंम्बर ५ डाँडाखुटीका ४८ वर्षका मीना रावत रहेको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ख का सचिव भरत खड्काले जानकारी दिनुभएको छ ।
गत फागुन २६ गते अपराह्न ४ बजे घर नजिकैको काल्नामा चराइराखेको बोका माथि बाघले आक्रमण गरेको र बोकालाई बचाउन खोज्दा रावत घाइते भएको खड्काले बताउनुभयो । घाइते रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि अहिले घर फर्किनुभएको छ ।
बाघको आक्रमणबाट राउतको एउटा बोका मरेको छ । सोही दिन बाघको आक्रमणबाट एउटा कुकुर पनि मरेको थियो । हिजो फेरी बाघले आक्रमण गर्दा सोही ठाउँका मिना घर्तीको एउटा बोका बेपत्ता भएको खड्काले बताउनुभएको छ ।
दिनदहाडै बाघले आक्रमण गर्न थालेपछि त्यहाँका स्थानीयहरू त्रसित भएका छन् । उनीहरू पशु चौपाया सँगसँगै मानवीय क्षतिसमेत हुनसक्ने भन्दै त्रसित भएका हुन् ।