पत्रकार र सञ्चार माध्यममाथि जुनसुकै नाममा हुने आक्रमण र अवरोध सह्य नहुने एक कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका छन् । पत्रकार माथि हुने आक्रमण निन्दनिय भएको उनिहरुले बताए ।
रिपोर्टिङका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको र आन्दोलनका नाममा राजावादीहरुले विभिन्न सञ्चार माध्यममा तोडफोड र आगजनीको प्रयास गरेको भन्दै कुनै पनि बहानामा हुने यस्ता घटना सह्य नहुने बताएका हुन् । उनीहरुले पत्रकार सुरेश रजकको ज्यानै जाने गरी आगजनी गर्ने र सञ्चार माध्यममा तोडफोड र आगजनी गर्नेहरुलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । साथै मृतकका परिवारलाई उचित राहत दिदै प्रेसमाथि हुने यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लीला शाहले सुरेश रजकलाई बर्बरतापूर्ण तरिकाले हत्या गरिएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाहीको माग गर्नुभयो ।
कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले मिडिया र सञ्चारकर्मी सुरक्षित हुन नसके लोकतन्त्र जोगिन नसक्ने भन्दै मिडिया र मिडियाकर्मी सुरक्षित बनाउनेतिर गम्भीर हुन राज्यसँग आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष प्रताप रेग्मीले गणतन्त्रमा पनि सञ्चारकर्मी र सञ्चार माध्यम असुर िक्षत हुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले आन्दोलनका नाममा गरिएका यस्ता गतिविधि गलत रहेको भन्दै गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा ” पत्रकारहरुलाई बाँच्न देऊ, स्वतन्त्ररुपमा लेख्न र बोल्न देऊ, पत्रकार हत्याका दोषीलाई कारवाही गर ” लगायतका नारा लेखिएका प्लेकार्ड सहित पत्रकारहरुले विरोध प्रदर्शन गरेका थिए ।
पत्रकार महासंघका पूर्वअध्यक्षहरु, केन्द्रीय पूर्वपदाधिकारी, जिल्लामा क्रियाशील पत्रकारहरुलगायतको उपस्थितिमा गरिएको कार्यक्रमको सहजीकरण शाखा सचिव जे.एन.सागरले गर्नुभएको थियो ।