
नेपाली कम्युनिस्ट आन्दोलन तथा दाङको वामपन्थी राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्नुभएका वरिष्ठ नेता शोभाराम बस्नेतको निधन भएको छ। उहाँको आज बिहान करिब सवा २ बजे निधन भएको हो।
पञ्चायतकालीन कठिन परिस्थितिमा भूमिगत रही कम्युनिस्ट आन्दोलनको आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनुभएका बस्नेतलाई नेकपा (एमाले) ले ‘कम्युनिस्ट योद्धा सम्मान’बाट समेत सम्मानित गरेको थियो।
दाङमा वामपन्थी चेतना विस्तार गर्न तथा किसान र श्रमजीवी जनताको अधिकारका लागि उहाँले पुर्याउनुभएको योगदान अतुलनीय मानिन्छ। उहाँको निधनले दाङको कम्युनिस्ट आन्दोलनसँगै समग्र नेपाली वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको छ।
उहाँको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार

