सपना भण्डारी बस्नेत
हिन्दू नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरूमा हार्दिक शुभकामना दिन चाहन्छु । आफ्नो धर्म, संस्कार र संस्कृतिप्रति मलाई अत्यन्त आस्था र विश्वास लाग्छ । म पनि आफू बुझ्ने भएदेखि नै हरितालिका तीजको ब्रत बस्दै आएकी छु । यसको धार्मिक महत्व एकातिर छ भने अर्कातर्फ हाम्रो परम्परा र संस्कृति भएकोले पनि यसको संरक्षण र प्रबद्र्धन गर्दै जानुपर्छ जस्तो लाग्छ मलाई ।
तीजमा दिदीबहिनीबीच भेटघाट हुने, सुख दुःखका कुरा आदानप्रदान हुने, मिठो मसिनो खाने प्रचलन भएकोले पनि मलाई यो पर्वको महत्व बढी लाग्ने गर्छ । गीत संगीतको माध्यमबाट मनका बेदना पोख्ने नाचगान गर्ने, माइती र चेलीको सम्बन्ध प्रगाढ बनाउने यो पर्व विशेष रहने गर्छ ।
तर पछिल्लो समय तीज भड्किलो बन्दै गएको मलाई महसुस भएको छ । तीज आफ्नै मौलिकताभन्दा पनि आधुनिकता बढी देखिन थालेको छ । खासमा कुनैपनि पर्वको आफ्नो मौलिक पहिचान हुन्छ तर त्यसलाई बिर्सेर पश्चिमा संस्कृति तीजमा समेत देखिन थालेको छ । एकअर्काको धर्मको सम्मान गर्दै धार्मिक सहिष्णुता बढाउनुपर्ने आजको आवश्यकता देखिन्छ । देखावटीभन्दा आफ्नै दक्षता र क्षमता अनुसार चाडपर्व मनाउन सबै दिदीबहिनीहरूमा अनुरोध गर्दछु ।
एक महिना अघिदेखि दर खाने, महँगा गरगहना प्रदर्शन गर्ने होडबाजीले आपसी सद्भाव र एकता कायम हुन सक्तैन । अहिले झनै हाम्रो नेपालमा अर्थतन्त्र खस्किएको छ अर्थिक मन्दीले देश ढुबेको बेला हामीले विदेशी मुलुकबाट भित्रिएका सौन्दर्यका सामानहरूले सजिएर झन् देशलाई आर्थिक भारमा पार्नुहुँदैन जस्तो लाग्छ ।
म एउटा संघर्षशील महिला उद्यमी पनि भएकोले हरेक महिला आत्मनिर्भर भएको देख्न चाहन्छु । मेरो दृष्टिकोणमा हरेकले आफूले गर्ने खर्च आफूले आर्जन गर्न सक्नुपर्छ, आफ्नो कमाइ र हैसियतमा रमाउन सक्नुपर्छ । हरेक महिला उद्यमी भय समाजमा महिलामाथि हुने हिंसा पनि कम हुन्छ । तब मात्र सुन्दर समाज निर्माण गर्न सकिन्छ ।