थारु समुदायमा अट्वारी पर्व : धार्मिक आस्था र पारिवारिक आत्मीयता




— दिप्तीशिखा चौधरी

नेपाल बहुसांस्कृतिक मुलुक हो। यहाँका विभिन्न जातजातिले आ–आफ्नो मौलिक परम्परा र संस्कृतिअनुसार पर्व–उत्सव मनाउँदै आएका छन्। तीमध्ये थारु समुदायले मनाउने अट्वारी पर्व विशेष महत्त्वपूर्ण मानिन्छ।
थारु समुदायको अट्वारी पर्व भाद्र महिनाको आइतबारका दिन मनाइने एक पर्व हो। यो पर्व एक दिन मात्र मनाइन्छ। यस पर्वको आगमनसँगै थारु समुदायमा तेल पेलाउने, पिठो पिसाउनेलगायतका काम दुई–चार दिनअघिदेखि नै सुरु भइसकेको हुन्छ।

पहिलो दिन
अट्वारी पर्वको पहिलो रात ‘दर’ (भिन्सरया भाट) खाने नाममा भात, माछा चोखो तरिकाले पकाइन्छ र भाले बास्नुअघि उठेर दर (भिन्स¥या भाट) खाने प्रचलन रहेको छ। त्यसपछिको दिन पुरुष–महिलाहरू व्रत बस्छन्।

दिउँसो पुरुष व्रतालुहरू नुहाइधुवाइ गरेर चामलको पिठोको ‘ठोप्वा’ गोलो आकारको रोटी पकाउँछन्। रोटी पकाउने ठाउँलाई गोबरले लिपेर चोखो बनाइएको हुन्छ। सबैभन्दा पहिले पकाइएको रोटी आकारमा अरू रोटीभन्दा ठूलो हुन्छ। थारु लोकविश्वासअनुसार उक्त रोटी भीम (पाण्डवका वीर पुरुष) का लागि भनेर छुट्टै राखिन्छ।

साँझ सबै व्रतालुहरू गोबरले लिपेको चोखो ठाउँमा बस्छन्। बीचमा आगो र लोटामा पानी राखिन्छ। टपरीमा रोटी, काँक्रो, केरा लगायतका अन्य फलफूल, दही, घिउ राखिन्छ। व्रतालुहरूले आ–आफ्नो टपरीबाट सबै खानेकुरा अग्निदेवतालाई चढाउँछन् र जल आचमन गर्छन्।

त्यसपछि आफ्नो दुना–टपरीबाट अर्को दुना–टपरीमा खानेकुरा अलिअलि निकाल्छन्। यसरी खानुअघि निकालिएको खानेकुरालाई ‘अग्रासन’ भन्ने गरिन्छ।

दोस्रो दिन
अट्वारीको दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरू खाना पकाउन थाल्छन्। खाने खानाका लागि तीन, पाँच अथवा सात प्रकारका तरकारी पकाइन्छ। जसमा पवैंको साग, सिल्टुङ (एक प्रकारको गेडा), पाप्रो (गब्डा), चिचिण्डो (कैठा) अनिवार्य हुनुपर्छ भन्ने गरिन्छ। साथै, अन्य मौसमी तरकारी पनि पकाइन्छ।

खाना पकाइसकेपछि सबै व्रतालुहरू लिपेको चोखो ठाउँमा बस्छन्। आ–आफ्नो टपरी र बौँताबाट अलिअलि खाना झिकेर अग्निलाई चढाउँछन्, जल आचमन गर्छन् र छुट्टै दुना–टपरीमा केही अंश छुट्याएर राख्छन्। त्यसपछि आफू खाना खान्छन्।

साँझ निकालिएको खानेकुरा र बिहानको खाना अर्थात् ‘अग्रासन’ आफ्ना दिदीबहिनीहरूलाई दिन जान्छन्। आफूले खाने खाना शाकाहारी भए पनि दिदीबहिनीहरूलाई दिन जाँदा माछा–मासु पकाएर दिने चलन पनि रहिआएको छ।

चेलीबेटीहरू अग्रासन आउने दिन हर्षित हुन्छन्। माइतीबाट दिन आउने अग्रासनको बेग्र प्रतीक्षामा बसेर खाना नखाई बस्छन्। ‘कहिले मेरो माइतीबाट खानेकुरा आउला र म खाउँला’ भनेर प्रतीक्षा गरिरहेका हुन्छन्।

यो अग्रासनले माइतीको माया, प्रेम र सद्भावलाई दर्शाउँछ। कुनै कारणवश अग्रासन नपाएमा दिदीबहिनीहरू मनको उदासी, छटपटी र दुःख मान्दै आँसु खसाउँछन्। माइती देशबाट धेरै टाढा रहेको महसुस गर्छन्। ‘अग्रासन’ ले यसरी पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्छ। यो दाजुभाइ–दिदीबहिनीको प्रेमको प्रतीक हो।

तर अब भने थारुहरूका चाडपर्व आधुनिकीकरणसँगै बिस्तारै हराउँदै गएको थारु अगुवाहरू बताउँछन्।

अट्वारी कोही थारुहरूले तीजअघि मनाउँछन् भने कोही थारुहरूले तीजपछि मनाउँदै आएका छन्। कुनै गाउँ–ठाउँमा भने यो पर्व मनाउनै छोडेको पाइन्छ। यसले गर्दा थारुहरू स्वयं एकजुट नभएर फुटेको प्रस्ट देखिन्छ। विगत चार–पाँच वर्षयता थारुहरूमा मेलमिलापको वातावरण देखिँदैन। थारु अगुवाहरू स्वयं ‘म’ भन्ने भावनाले ग्रसित हुँदा यस्तो समस्या आइपरेको कतिपय थारु अगुवाहरूको ठहर छ।

“परापूर्वकालदेखि नै थारुहरूले अट्वारी कहिले मनाएका हुन्, यसबारेमा जानकारी नभएकाले अब कतिपय थारुहरूले भाद्र महिनाको शुक्ल पक्षअगावै मनाउँदै आएका छन्। कोही थारुहरू भने ‘पर्व हो, जहिले मनाए पनि मनाउनै पर्ने हो’ भन्ने सोचले गर्दा अघि र पछि मनाउने गरेका छन्। यसले गर्दा बाहिर नराम्रो सन्देश त गएको छ नै, संस्कृति धरापमा पर्ने अवस्था पनि हो।”

थारु संस्कृतिविद्हरू भने थारु समुदायले मनाउँदै आएको चाडपर्वलाई जगेर्ना गर्दै जानुपर्ने र नयाँ पुस्ताले यसको संरक्षणमा जोड दिनुपर्ने बताउँदै आएका छन्। तर थारु अगुवाहरू भने यस्ता सांस्कृतिक कुरामा ध्यान नदिएको पाइन्छ।

ऐतिहासिक र धार्मिक किंवदन्ती
यस पर्वको ऐतिहासिक किंवदन्ती अनौठो खालको रहेको बताउँछन् थारु लोकसंस्कृतिविद् एवं अनुसन्धानकर्ता अशोक थारु।

थारुका अनुसार  “दाङ, सुकौराका थारु राजा दङ्गीशरणको दरबार घोडारूपी उर्वशीका कारण स्वर्गका राजा इन्द्रले आक्रमण गरिदिने धम्की दिएपछि भीमले निजलाई शरण दिएछन्। त्यसपछि भीम र दङ्गीबीच निकै घनिष्ठता बढेछ। एकपटक कुनै शत्रुले दङ्गीमाथि आक्रमण गरिदिएपछि रोटी पकाउँदै–पकाउँदै पाकिरहेको रोटी त्यसै छोडेर भीम दङ्गीको सहयोगमा गएछन्। संयोगले त्यो दिन आइतबार नै परेछ। त्यसैबेलादेखि यही घटनाको सम्झनामा भीमलाई सम्झिएर अट्वारी पर्व मनाउन थालिएको हो।”

संस्कृतिविद् थारुका अनुसार आइतबारलाई रविबार पनि भनिन्छ। रवि अर्थात् सूर्य, जो जीवनको मुख्य ऊर्जा स्रोत हो। थारु संस्कृतिमा श्री सूर्यनारायणकी आराध्य कन्या कुन्ती, महाभारतकी नायिका कुन्ती, कोटारिन देवीमाईका रूपमा पुजिन्छिन्। उनमा तेत्तीस कोटि देवीदेवताहरूलाई आह्वान गर्ने शक्ति विद्यमान थियो।

त्यही शक्ति अर्थात् मन्त्रको परीक्षण गर्दा रवि अर्थात् सूर्य आइपुगी निजबाट कर्ण, जसलाई थारुहरू ‘करेङवीरराज’ भन्दछन्, उनको जन्म भएको थियो।

थारु संस्कृतिअनुसार छोराको जन्म भएमा ‘सठौरा पूजा’ गर्ने चलन छ, जसमा रोटी चढाइन्छ। रवि अर्थात् सूर्य ब्रह्माण्डका शक्ति भएको र कोटारिन माईका पूजनीय दुवै भएकाले रविको सम्झनामा रविबार अर्थात् आइतबारका दिन गरिने व्रत–उपवासलाई ‘ट्वारी’ भन्न थालिएको हो।

थारु संस्कृतिविद्हरू अट्वारी पर्वलाई यसरी अर्थ्याइरहँदा थारु अगुवाहरू भने आजको आधुनिक युगमा क्यालेन्डरमा अट्वारी पर्वको मिति घोषणा गर्न सकेका छैनन्।

अहिले स्थानीय सरकार भएसँगै थारु बाहुल्यता भएका स्थानीय तहमा सार्वजनिक बिदासमेत दिने गरिएको छ। थारु समुदायको पर्वलाई राज्यले चासो नलिएका बेला केही स्थानीय तहले यसलाई चासोका रूपमा लिएको पाइन्छ।

राज्यसँग माग गर्ने तर दबाबमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वमा सार्वजनिक बिदा नदिएको कतिपयको बुझाइ छ। एकातर्फ थारुहरू स्वयं एकजुट हुन नसक्नुले पनि थारुहरूको लोकसंस्कृतिमा आँच आउने गरेको विश्लेषण गरिएको छ।
त्यसैले थारुहरूले आफ्नो लोकसंस्कृति र लोकपरम्परालाई जगेर्ना गर्न एकआपसमा सहकार्य, सद्भाव र सहअस्तित्व आवश्यक छ।

यसैबीच
लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेशमा थारु समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो।
थारु समुदायको बसोबास रहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएकाे हो।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्