
प्रेस चौतारी दाङले संगठनलाई थप क्रियाशील, प्रभावकारी र जनसङ्ग जोड्ने उद्देश्यसहित आगामी कार्ययोजना पारित गरेको छ। चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले रणनीतिक कार्ययोजना पारित गरेको हो।
कार्ययोजनामा पालिका समिति सक्रिय बनाउने, जनस्तरसँग चौतारीको सम्बन्ध बलियो बनाउने, नयाँ पत्रकार उत्पादनका लागि तालिम सञ्चालन गर्ने, अक्षयकोषलाई थप व्यवस्थित बनाउने लगायत कार्यक्रम समावेश गरिएको छ।
कार्यक्रममा बोल्दै प्रदेश इञ्चार्ज बैठकका प्रमुख अतिथि टीका बस्नेतले प्रेस चौतारीले अब संगठन विस्तार मात्र नभई गुणस्तरीय पत्रकार उत्पादन र व्यावसायिक सशक्तिकरणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयाे। “पत्रकारिता जनपक्षीय हुनुपर्छ,” उहाले भन्नुभयाे-“चौतारीले संगठनात्मक मजबूतीसँगै जनताको पक्षमा कलम चलाउने हैसियत कायम राख्नुपर्छ।”
त्यसैगरी, नेकपा एमाले दाङका उपाध्यक्ष तथा बैठकका प्रमुख बक्ता मनोहर बुढाथोकीले प्रेस चौतारीलाई विचार, संगठन र क्रियाशीलता तीनै पक्षमा सन्तुलन मिलाउँदै अघि बढ्न सुझाव दिनुभयाे। “संगठन बलियो भए मात्र पत्रकारको आवाज बलियो बन्छ,” उहाले जोड दिनुभयाे।
बैठकमा ९ वटा पालिकामा समिति गठन भइसकेको र १ वटामा प्रक्रिया अघि बढिरहेको जानकारी गराइयो। साथै, अक्षयकोष व्यवस्थित गर्न पदाधिकारी, सल्लाहकार र दाताहरूसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।
लुम्बिनी प्रदेश सह-इञ्चार्जमा गणेश आचार्य र जिल्ला इञ्चार्जमा दुर्गालाल केसीलाई स्वागत तथा सम्मान गरिएको कार्यक्रममा चौतारी र पार्टी गतिविधि प्रचारप्रसार गर्न ‘चौतारी सञ्चार डेस्क’ समेत स्थापना गरिएको छ।
कार्यक्रमलाई सविन प्रियासन, पाण्डवप्रसाद शर्मा, जेएन सागर, गणेश आचार्य, दुर्गालाल केसीलगायतले पनि सम्बोधन गर्नु भएको थियाे।बैठक चौतारी दाङका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्य र सचिव निमुसंगम घर्तिको सहजीकरणमा सम्पन्न भएको हो।

