तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित एकता टोल विकास संस्थामा बस्दै आउनु भएकी भुमा ठाडा हाल ठूलो पारिवारिक पीडामा हुनुहुन्छ।
केही महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानुभएका उहाँका श्रीमानको मृत्यु भएपछि उहाँ एक्लिँदै जानुभएको छ। आर्थिक अवस्था कमजोर भएकाले उहाँको घरमा बस्न र खानको समेत ठोस व्यवस्था थिएन। अहिलेसम्म गाउँ छरछिमेकका स्थानीयवासीले खान बस्नका लागि सहयोग गर्दै आइरहेका थिए।
यसै सन्दर्भमा अहिले उहाँको बसोबासको समस्यालाई केही समाधान गर्ने हेतुले स्थानीयस्तरमा टिनको जोहो गरी घर निर्माणमा सहयोग पुर्याउने पहल गरिएको छ।
आज बिहान वडाध्यक्ष भिम योगीज्यूको प्रमुख आतिथ्यता, वडा सदस्य हुमा घर्तीज्यूको विशेष आतिथ्यता तथा एकता टोल विकास संस्थाका अध्यक्षज्यूको रोबरमा भुमा ठाडाको घरमै पुगेर १२ फिटे २० पिस ३६ गेजका टिनहरू हस्तान्तरण गरिएको छ।
उक्त सहयोगका लागि लायन्स क्लब अफ दाङका पूर्व अध्यक्ष सुरेश हमालज्यूबाट १२,६०० रुपैयाँ, क्लबका वर्तमान अध्यक्ष गोरख ओलीज्यूबाट ५,००० रुपैयाँ, तुलसीपुर निवासी खिमा पुनज्यूबाट ७,५०० रुपैयाँ र मेरो तर्फबाट ५,००० रुपैयाँ गरी जम्मा ३०,००० रुपैयाँ संकलन गरिएको थियो।
यो सहयोगले भुमा ठाडाको अस्थायी आश्रय व्यवस्थालाई स्थायी बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ।
सहयोगदाताहरूप्रति कृतज्ञता व्यक्त गर्दै स्थानीय विकास संस्थाले आगामी दिनमा यस्ता सहयोग कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।