तुलसीपुर–१५ मा महिला नेतृत्व तथा सीप विकास तालिम सम्पन्न



तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ द्वारा आयोजना गरिएको पाँच दिने महिला नेतृत्व तथा उद्घोषण सीप विकास तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा वडाका विभिन्न टोल तथा समुदायबाट सहभागी भएका ३० जना महिलाहरूले प्रशिक्षण प्राप्त गरेका छन्।

समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष लक्ष्मण चौधरीले महिलाहरूलाई घरायसी काममा मात्र सीमित नराखी सार्वजनिक जीवनमा समेत अग्रसर बनाउने उद्देश्यले यस्ता तालिमको आयोजना गरिएको बताउनुभयो। उहाँले समाजका धेरै जिम्मेवारी महिलाहरूले नै बहन गर्ने भए तापनि उनीहरूको नेतृत्व क्षमता र प्रस्तुतीकरण सीपलाई निखार्ने अवसर भने कम हुने गरेको उल्लेख गर्दै, “महिलाहरू घरभित्र मात्रै होइन, समाज परिवर्तनमा पनि उत्तिकै सक्रिय छन्। त्यसैले उनीहरूको आत्मविश्वास र बोलीको प्रभाव बढाउन यस्ता तालिम आवश्यक छन्,” भन्ने धारणा राख्नुभयो।

वडाध्यक्ष चौधरीका अनुसार वडा कार्यालयले आगामी दिनमा पनि महिलाहरूलाई सीपमूलक, व्यवसायिक तथा नेतृत्व अभिवृद्धिका तालिमहरू दिने योजना बनाएको छ। “वडाका हरेक महिलालाई कुनै न कुनै सीपमा दक्ष बनाएर आत्मनिर्भर बनाउने हाम्रो दीर्घकालीन योजना हो,” उहाँले भन्नुभयो।

समापन कार्यक्रममा वडा सदस्य सीता कुमारी लामिछाने, सामाजिक अभियन्ता मंगलसेन डेमन्डौरा, लेखा शाखा प्रमुख भद्र बहादुर खड्कालगायतले पनि बोल्दै महिलाहरूलाई यस्ता अवसरहरू अझै बढाएर लैजानुपर्नेमा जोड दिनुभयो। उहाँहरूले महिलाहरूलाई सशक्त बनाउन स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको र तालिममा सहभागी सबैले प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

तालिमका प्रशिक्षकहरूमा सञ्चारकर्मी तथा उद्घोषण प्रशिक्षक झरेन्द्र खरेल, सुशील बस्नेत, वसन्त आचार्य, दिप्तिशिखा चौधरी र वसन्त पौडेल रहनुभएको थियो। प्रशिक्षकहरूले उद्घोषण कला, आत्मविश्वास अभिवृद्धि, अभिव्यक्ति सीप, सामाजिक नेतृत्व तथा सार्वजनिक बोल्ने कलामा सहभागी महिलाहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरेका थिए।

तालिमको सहजकर्ता वडा सचिव नर्वदा पोखरेलले तालिम प्रभावकारी रुपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै सहभागी महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको  भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियाे ।

सहभागी महिलाहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यस्ता तालिमले आफूहरूमा आत्मविश्वास बढाउनुका साथै सार्वजनिक कार्यक्रमहरूमा खुलेर बोल्ने साहस पनि दिएको छ। तालिमबाट प्राप्त ज्ञान भविष्यमा सामाजिक गतिविधि तथा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा निकै उपयोगी हुने उनीहरूले बताएका छन्।

यस तालिममार्फत महिलाहरूमा नेतृत्व क्षमताको विकास मात्र नभई सामाजिक परिवर्तनका लागि बोल्न सक्ने आत्मबल समेत जागृत हुने अपेक्षा आयोजकहरूले लिएकाे छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्