अध्यक्ष कप टि-२० क्रीकेटको उपाधी वडा न ११ लाई



लक्ष्मण बस्नेत

तुलसीपुर नगर स्तरिय वडा नम्बर ११ अध्यक्ष कप टि- २० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वडा न ११ ले जितेको छ। तुलसिपुर उपमहानगरपालिका वडा न ११ को आयोजनामा अमर माबी उरहरी खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा वड न ७ लाई ७ विकेटले पराजीत गर्दै आयोजक वडा न ११ ले उपाधि जित्न सफल भएको हो ।

उपाधि संगै उसले नगद २५ हजार, ट्रफी, मेडल,प्रमाणपत्र हात पार्यो । फाईनलमा हार ब्यहोरेको वडा नम्बर ७ उपबिजेतामा सिमीत रहदै नगद १५ हजार, ट्रफी मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । टस जितेर ब्याटिङ रोजेको वडा ७ ले ७३ रन बनाउदै अल आउट भएको थियो । ७ नम्बरका लागि कप्तान गोपाल केसीले नटआउट २५ रन बनाएका थिए भने प्रताप स्वर्णकारले १२ रनको योगदान गरेका थिए। वडा नम्बर ७ लाई सस्तैमा रोक्नका लागि वडा नम्बर ११ का मनू शाहले सार्बाधिक ३ तथा सुधन बूढाथोकिले २ र कप्तान दिनेश रावतले १ विकेट लिन सफल भए । ७४ रनको बिजायी लक्ष्य सहित खेल मैदानमा उत्रिएको वडा न ११ ले १८ ओभरमा ३ विकेटको क्षेतिमा लक्ष्य भेटाएको थियो ।

जसका लागि मनु शाहले सर्वाधिक २५ रनको योगदान दिए भने कप्तान दिनेश रावतले नटआउट २३ रनको योगदान दिए । वडा नम्बर ७ को लागी संदीप नेपालीले २ विकेट लिन सफल भए । कार्तिक १६ गते देखि संचालित प्रतियोगितामा तुलसिपुर नगरका ११ टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मनु शाह म्याच अफ द फाइनल घोषित भएका थिए भने ११ कै दीजन मल्ल इमर्जिंग प्लेयर तथा वडा नम्बर ७ का गोपाल केसी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई जनहि २ हजार ५ सय नगद तथा ट्रफी सहित पुरस्कृत गरिएको थियो ।

यसैविच प्रतियोगिताको समापन तथा पुरस्कार बितरण समारोह वडा अध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा वडा नम्बर ७ का वडाअध्यक्ष राम बहादूर जिसीको प्रमुख आतिथ्यमा भएको थियो । वडा सदस्य यज्ञ बहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी राम बहादुर जिसि,खेलप्रेमी तथा उपमहानगरका ईन्जीनियर तथा रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष पवन कुमार योगी, दाङ जिल्ला क्रीकेट संघका सदस्य रुपेश शर्मा, दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेत, नेपाली काग्रेसका बालकृष्ण लामिछाने, नेकपा एमाले तुलसिपुर नगर कोषाध्यक्ष टोपेन्द्र बस्नेत सोमि चौधरी, युवा तथा खेलप्रेमी पुर्ण केसि लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको संचालन वडा सचिव पदम कुमार भण्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्