यातायात व्यवसायीहरूको आन्दोलनका कारण दाङसहित देशभर आजदेखि सार्वजनिक यातायात सेवा पूर्णरूपमा बन्द भएको छ । बिहानदेखि कुनै पनि सार्वजनिक सवारी साधन नचलेपछि सडकहरू सुनसान बनेका छन् । विषेशगरी लामो दूरीको यात्रा तय गरेका यात्रुहरू समस्यामा परेका छन् ।
यातायात व्यवसायीहरूले विभिन्न माग राख्दै आजदेखि अनिश्चितकालका लागि सार्वजनिक सवारी नलाउने निर्णय गरेका हुन् ।
व्यवसायीहरूले सरकारसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागहरू पूरा नभएपछि सवारी साधन बन्द गरेर आन्दोलनमा उत्रनुपरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले बताउनुभयो ।
निजि सवारी साधनलाई यात्रु बोक्न दिने गरी गण्डकी प्रदेश सरकारले निति बनाएपछि सार्वजनिक यातायात व्यवसायी शुक्रबारदेखि आन्दोलित भएका हुन् । संविधान विपरित प्रदेश सरकारले ऐन बनाएर कार्यान्वयन गर्दा सार्वजनिक यातायात विस्थापित हुने उहाँले बताउनुभयो । उहाँले यात्रुहरुका समस्यामा आफुहरु गम्भिर रहेको समेत बताउनुभयो ।
शुक्रबार गण्डकी प्रदेशबाट आन्दोलन शुरु गरेका व्यवसायीले आजदेखि देशभर सार्वजनिक सवारीसाधन ठप्प गरेका छन् । आन्दोलनका कारण दाङभित्रने तथा दाङबाट बाहिरिने सवारी साधन पनि ठप्प छन् । व्यवसायीका अनुसार आन्दोलनका क्रममा एम्बुलेन्स, स्कुलबस, प्रेस, दमकल,पानी ट्यांकर, कृषिका गाडी भने निर्वाधरुपमा संचालन रहेका छन् ।