तुलसीपुरमा सिनेमा पर्यटन विशेष संवाद कार्यक्रम हुने भएको छ । तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यानमा शनिबार ‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रम हुने भएको हो ।
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखा, तुलसीपुर उपमहानगरपालिका वडा नंं. ७ को कार्यालय र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा हुन थालेको कार्यक्रममा चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे विशेष बहस र छलफल हुने आयोजकले जनाएका छन् । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीका अनुसार चलचित्र क्षेत्रको समग्र विकास र उत्थान गर्नुका साथै त्यसलाई स्थानीय संस्कृति र पर्यटन प्रवद्र्धनसँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको छ ।
दाङमा रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका क्षेत्रहरूलाई चलचित्रमार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । चलचित्र र पर्यटनबीचको सहकार्यले तुलसीपुर–७ सहित दाङ जिल्लाको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलाकार, रंग पत्रकार, संस्कृतिविद्, पर्यटनविद् र जनप्रतिनिधिबीच विशेष बहस हुने जनाइएको छ । कार्यक्रमका प्रमुख वक्ताका रुपमा अभिनेता रमित ढुंगाना तथा निर्देशक, निर्माता एवं अभिनेता मुनाल घिमिरे उपस्थित हुनुहुनेछ भने अन्य विशिष्ट व्यक्तित्वहरूलाई पनि कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाइसकिएको छ । चलचित्र र पर्यटन क्षेत्रको समन्वयबाट स्थानीयस्तरमा रोजगारी, संस्कृति संरक्षण र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।