धरणिधर चौधरीको योगदानको स्मृतिमा प्रतीक्षालय निर्माण, चोकको नामकरण ‘धरणिधर चोक’



दङ्गिशरण गाउँपालिका–४ बैबाङ्गमा पर्ने मुख्य चोकमा स्थानीय युवाहरूको सक्रिय पहल र सहयोगमा नयाँ प्रतीक्षालय निर्माण गरिएको छ। समाजसेवी स्व. धरणिधर चौधरीको योगदानलाई स्मरण गर्दै प्रतीक्षालयसहित चोकको नामकरण ‘धरणिधर चोक’ गरिएको हो।

दङ्गिशरण युवा समूहको अगुवाइमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन तथा नामकरण गरिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्व. चौधरीको सामाजिक सेवाप्रति समर्पण र योगदानको चर्चा गर्दै उनलाई स्थानीय विकासका अगुवा पात्रको रूपमा स्मरण गरेका थिए।

चौधरीको योगदान: तत्कालीन पञ्चायत कालदेखि नै अग्रसर

स्व. धरणिधर चौधरी तत्कालीन हेकुली गाउँ विकास समितिमा सक्रिय समाजसेवी थिए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा प्रशासनिक सेवाको पहुँच विस्तारका लागि उल्लेखनीय भूमिका खेलेका थिए।

उनकै अगुवाइमा हेकुली क्षेत्रमा पहिलो विद्यालय स्थापनाको जग बस्यो। त्यस्तै, उनले विरेन्द्र मावि हेकुली ( स्था.२०२२),हेकुली स्वास्थ्य चाैकि (२०३०), प्रहरी चौकी (२०१७) र हुलाक सेवा, साझा सस्था ( २०२१ ) लगाएतका संघसस्था सञ्चालन गर्नका लागि आवश्यक जग्गा निशुल्क प्रदान गरेका थिए।

बैबाङ्गदेखि पोटलीसम्मको सिधा बाटो निर्माण ,उत्तर देखि दक्षिण , पुर्व देखि पश्चिम जाेड्ने सडक, कुलाे निर्माणका लागि  चौधरीले आर्थिक तथा भौतिक सहयोग गरेका थिए। यस बाटोले आजसम्म पनि स्थानीयलाई सहज आवागमनमा सहयोग पुर्‍याइरहेको छ।

युवाहरूको सक्रियता र सामूहिक प्रयास

दङ्गिशरण युवा समूहका सदस्यहरूले स्व. चौधरीको स्मृतिमा प्रतीक्षालय निर्माण गर्नु केवल भौतिक संरचना निर्माण मात्र नभई सामाजिक चेतना र योगदानको सम्मानसमेत भएको बताएका छन्।

“हामीले उहाँको योगदानलाई सधैंका लागि जीवित राख्न प्रतीक्षालय निर्माण गरेका हौं। अहिलेको पुस्ताले पनि उहाँको योगदान सम्झन र सिक्न सकोस् भन्ने हाम्रो चाहना हो,” युवा समूहका एक सदस्यले बताए।

युवाहरूले आर्थिक, भौतिक, श्रमदानलगायत विभिन्न माध्यमबाट सक्दो सहयोग जुटाएर प्रतीक्षालय निर्माण गरेका हुन्। चोकमा बस्ने यात्रु, विद्यालय जाने विद्यार्थी, र बजारमा आउजाउ गर्ने सर्वसाधारणका लागि प्रतीक्षालय उपयोगी हुने विश्वास लिइएको छ।

स्थानीय समाजमा सकारात्मक सन्देश

प्रतीक्षालय निर्माण र नामकरणले स्थानीय समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। पुराना पुस्ताको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ता सामाजिक कार्यमा अग्रसर हुनुपर्ने सन्देश समेत युवाहरूले दिएका छन्।

धरणिधर चौधरीले देखाएको सामाजिक सेवा र योगदानको बाटोमा पछिल्लो पुस्ताका युवाहरूको सशक्त उपस्थितिले स्थानीय तहमा सकारात्मक सामाजिक परिवर्तनको संकेत दिएको छ। प्रतीक्षालय जस्तो सानो संरचनाले पनि इतिहास, सम्झना र प्रेरणाको थलो बन्न सक्ने उदाहरण बैबाङ्गमा स्थापित भएको छ।

धरणिधर चोक न केवल एक प्रतीक्षालयको नाम हो, यो एक योगदानको पहिचान र स्थानीय समाजप्रतिको दायित्वबोधको प्रतीक पनि बनेको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्