तुलसीपुरमा बालमैत्री नगरका लागि सामुहिक प्रतिबद्दता पत्रमा हस्ताक्षर  

नगर प्रमुखकाे संयाेजकमा नगर समिति गठन


दिप्तिशिखा चाैधरी

तुलसीपुरमा  बालमैत्री स्थानिय शासनका लागि बाल अधिकार सचेतना कार्यक्रमको एक महत्वपूर्ण कार्यक्रम आज सम्पन्न भएको छ। यस कार्यक्रम अन्तर्गत बालमैत्री सुचकहरूको अवस्था, योजना निर्माण र स्थितिपत्र प्रस्तुतीकरण गरियो।  नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि) काे आयाेजना तथा लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको  हाे। कार्यक्रमको मुख्य उद्देश्य बालमैत्री नगर घोषणा गर्ने प्रक्रिया र यसका विभिन्न पहलुहरूको बारेमा सर्वसाधारणलाई जानकारी पुर्याउनु रहेको थियो।

संस्थाका अध्यक्ष नवराज लामिछानेकाे अध्यक्षता तथा   तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले काे प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा खड्काले बालमैत्री नगरको परिकल्पना र यसको कार्यान्वयनमा सबैको साथ र सहयोगको आवश्यकता रहेको कुरा उल्लेख गर्दै यस कार्यक्रमलाई सफल बनाउन आफ्नो प्रशासनको तर्फबाट सक्दो सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

“केही वडा बालमैत्री बनिसकेका छन्, तर सबै वडालाई यस दिशामा अघि बढाउन अनुगमन प्रणालीलाई सक्रिय बनाउनुपर्ने छ। यसका साथै, यसलाई दिगो रूपमा कार्यान्वयन गर्न हमी प्रतिबद्ध छौं।” खड्काले सबैलाई बालमैत्री नगरको दिशामा अघि बढ्न आग्रह गर्दै यस कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद दिनुभयाे।

बालविज्ञ दुर्गालाल केसिले कार्यक्रमका दौरान बाल अधिकार र बालकल्याणका विषयमा गम्भीर चर्चा गरे। उहाँले भन्नुभयो, “बालबालिकाका सवालमा सरोकारवाला पक्षहरू गम्भीर हुनु आवश्यक छ। अन्य क्षेत्रमा भन्दा बालबालिकाका अधिकार र कल्याणमा राज्यले अझ गम्भीरता देखाउनु पर्छ। बालअधिकारको उल्लङ्घनको अवस्था यदि यति नै जारी रह्यो भने, हाम्रो समाजमा बालकल्याणको मापदण्डहरू कमजोर पर्नेछन्।”

बालमैत्री नगर निर्माणको दिशामा ५१ वटा सुचकहरूको आवश्यकता रहेको पनि उहाँले बताउनुभयाे। यी सुचकहरूको बीचमा बाल बचाउ (१४), बाल संरक्षण (१०), बाल विकास (६), बाल सहभागिता (६) र संस्थागत विकास (१५) का सुचकहरू रहेका छन्। यी सबै सुचकहरूको पालना गर्दा मात्र  बालमैत्री नगर बनाउन सक्षम हुने विश्वास  व्यक्त गर्नुभयाे

“बालक्लव गठन गरेर यसलाई शिक्षा महाशाखा र वडामा सुचिकृत गर्नका लागि अभियानलाई निरन्तरता दिनु आवश्यक छ।” उहाँका अनुसार बालक्लवको सक्रियता र समुदायमा यसको प्रभाव पर्ने हो भने बालमैत्री नगरको परिकल्पना अझ प्रभावकारी ढंगले अघि बढ्न सक्छ।

महिला बालबालिका सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरले बालमैत्री स्थानिय शासन नगर समिति गठनका बिषयमा जानकारी गराउनुभयाे ।

साथै आज नै नगर समिती गठन गरिएको छ । पालिका प्रमुख संयाेजक र सामाजिक विकास महाशाखा / शाखा प्रमुख सदस्य सचिव र अन्य उप प्रमुख,  वडा अध्यक्ष  सदस्य रहने गरि बालमैत्री स्थानिय शासन नगर समिति  गठन गरिएको हाे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रहरी, बालक्लवका प्रतिनिधि र पत्रकारहरू लगायतका विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा, बालमैत्री नगर घोषणा गर्ने निर्णयको बारेमा उपस्थित सबैले प्रतिवद्धता पत्रमा हस्ताक्षर पनि गरेका थिए, जसले यस कार्यको प्रभावकारी कार्यान्वयनमा सबैको समन्वय र प्रतिबद्धता सुनिश्चित गरेको छ।

कार्यक्रमको शहजिकरण नवजागरण महिला तथा बाल संरक्षण केन्द्रका महासचिव नानीमैयाँ केसिले गर्नुभएको थियो।

बालमैत्री स्थानिय शासनको अवधारणा अन्तर्गत गरिएको यस कार्यक्रमले बाल अधिकार र बालकल्याणमा विभिन्न सरोकारवालाहरूको उत्तरदायित्व र दायित्वलाई स्पष्ट पार्दै, तुलसीपुरलाई एक बालमैत्री नगरको रूपमा रुपान्तरण गर्ने एक नयाँ मार्गदर्शन प्रस्तुत गरेको छ।

यो कार्यक्रम भनेको केवल एक औपचारिक सभा मात्र होइन, यसले बाल अधिकारको संरक्षण र प्रवर्द्धनको लागि व्यापक पहलको आवश्यकता र प्राथमिकतामा जोड दिएको छ। लुम्बिनी प्रदेशको तुलसीपुर उपमहानगरपालिकामा बालमैत्री नगर घोषणा गर्दै यस कार्यलाई दिगो बनाउनका लागि कार्यक्रमहरू र योजनाहरू निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

बालमैत्री नगर निर्माणका लागि थप पहल र निरन्तरता दिएर, आगामी वर्षहरूमा तुलसीपुरलाई अन्य नगरपालिकाका लागि एक उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ। यस कार्यक्रमले न केवल बाल अधिकारको संरक्षणमा मात्र ध्यान पुर्याएको छ, बरु बालक्लव र बालबालिकाको सक्रिय सहभागिता मार्फत स्थानीय सरकारसँगको सहकार्यलाई पनि सुदृढ बनाउनको लागि एक नयाँ मार्ग प्रशस्त गरेको छ।

यस कार्यक्रमले बालमैत्री नगरका लागि रचनात्मक कार्यहरूको थालनी गरेको छ र यसका विभिन्न पहलुहरूको निरन्तर अनुगमन गरेर दीर्घकालीन परिणामहरूको सुनिश्चितता गर्नका लागि ठोस कदम चालिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्