
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं. १ मा एक दिने अपाङ्गता अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को आर्थिक सहयोग, अपाङ्ग सेवा संघ दाङको आयोजनामा र मनकामना अपाङ्गता समावेशी स्वाबलम्बन समूहको सह–आयोजनामा सम्पन्न उक्त कार्यक्रम वडाको आ.व. २०८१/०८२ अन्तर्गत लक्षित समूहका लागि सञ्चालन गरिएको हो।
मनकामना अपाङ्गता समावेशी स्वाबलम्बन समूहका अध्यक्ष डम्मरलाल आचार्यकाे अध्यक्षता एव वडाध्यक्ष हुमकान्त सापकोटाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण आजको आवश्यकता भएको बताउँदै यस अभिमुखिकरण कार्यक्रमले उनीहरूलाई आफ्नो अधिकार र जिम्मेवारीबारे बुझ्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयाे । साथै, उहाले अपाङ्गता भएका व्यक्तिका आवश्यकता र सुझावअनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा आयआर्जनमुखी तालिम तथा स्वरोजगार प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम समावेश गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
कार्यक्रमका प्रशिक्षक तथा अपाङ्ग सेवा संघ दाङकी अध्यक्ष देवा डाँगीले राज्य, स्थानीय सरकार र वडास्तरमै अपाङ्गता भएका व्यक्तिहरुप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयाे। उहाले वडा कार्यालयले अपाङ्गता अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदम भएको भन्दै धन्यवाद दिनुभयाे।
‘‘जबसम्म अपाङ्गता भएका व्यक्तिको सवाल सबैको सवाल बन्न सक्दैन, तबसम्म सचेतना, अभिमुखिकरण र निरन्तर पैरवी आवश्यक रहन्छ,’’ उहाले भन्नुभयाे ।
उपाध्यक्ष भूमिका पाण्डेले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे स्वाबलम्बन समूहका कोषाध्यक्ष रमिता वलीले कार्यक्रमकाे सहजीकरण गर्नुभयाे ।
साे अवसरमा वडाका सदस्यहरू मेघराज सैनी, शालिकराम खराल, गौरी नेपाली, एवम् ओबी वली केसी लगाएतले आ- आफनाे धारणा राखेका थिए ।

तालिमका प्रशिक्षक देवा डाँगी र बसन्तीले अपाङ्गता अधिकार, राज्यका जिम्मेवारी, पहुँच र समावेशी योजनाबारे सहभागीहरूलाई जानकारी दिएका थिए। कार्यक्रममा तुलसीपुर वडा नं. १ का ४६ जना अपाङ्गता भएका व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता, आत्मविश्वास र अधिकारप्रति सचेतना अभिवृद्धिमा योगदान पुर्याउने विश्वास आयोजक संस्थाले व्यक्त गरेका छन्।

