बिजौरी उद्योग बाणिज्य संघको १२औं साधारणसभा सम्पन्न



 

बिजौरी उद्योग बाणिज्य संघको १२औं साधारणसभा तथा स्वागत–सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष रेश्मीराज खडकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले  निजी क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड भए पनि राज्यले अपेक्षित सुविधा दिन नसकेको टिप्पणी गर्नुभयो । उहाँले व्यवसायीहरूलाई करको बोझ तिर्न बाध्य पारिएको तर आवश्यक प्रोत्साहन र सहुलियत दिन राज्य पछि परेको बताउनुभयो ।

त्यस्तै, दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेश श्रेष्ठ, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसी, नारायण उद्योग बाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, संघका संस्थापक उपाध्यक्ष पुस्पा कुमारी डाँगी, संस्थापक महासचिव तथा पूर्वअध्यक्ष मुकेश वली, नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी, बेलझुन्डी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतम, एमाले तुलसीपुर–१८ का अध्यक्ष कमाङशिङ खड्का, कांग्रेस तुलसीपुर–१८ का सचिव बिदुर गौतम, कांग्रेस तुलसीपुर–१९ का सभापति पदम वली, एमाले तुलसीपुर–१९ का अध्यक्ष लोकबहादुर रोका, आजीवन सदस्य यमुना कडेल शाह, तुलसीपुर–१९ का अध्यक्ष प्रेमनाथ योगी, तुलसीपुर–१८ का अध्यक्ष माधव वली र तुलसीपुर–१६ का अध्यक्ष शिवानन्द डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका महासचिव दीपक कुमार बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले आगामी दिनमा आफ्नै जग्गामा भवन निर्माणलाई प्राथमिकता दिने, बसपार्क तथा अटो पार्किङलाई व्यवस्थित बनाउन लाग्ने जानकारी दिनुभयो । संघ बलियो बन्न उद्योग–व्यवसायीको आर्थिक वृद्धि अपरिहार्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो । कोषाध्यक्ष कर्णबहादुर ओलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखा कार्यसमिति तथा बेलझुन्डी खानेपानी संस्थाका पदाधिकारीलाई स्वागत–सम्मान गरिएको थियो । त्यस्तै, संघमा नियमित रूपमा समयमै नविकरण गर्ने व्यवसायी सुरजबहादुर वलीलाई विशेष सम्मान गरिएको थियो ।

संघले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई आजीवन सदस्यता प्रदान गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्