
पर्यावरण संरक्षण र दिगो फोहर व्यवस्थापनमा सक्रिय गैरनाफामुखी संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले आज काठमाडौंमा आफ्नो १२औं वार्षिक साधारण सभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ।
सभामा संस्थाले आर्थिक वर्ष २०८१/८२ का गतिविधि प्रस्तुत गर्दै आफ्नो पाँच प्रमुख रणनीतिक क्षेत्र — फोहर व्यवस्थापन, जलवायु कार्य र न्याय, चक्रीय अर्थतन्त्र, वातावरणीय तथा दिगो फोहर व्यवस्थापन शिक्षा, पानी, सरसफाइ र स्वच्छता — मा केन्द्रित रहेर काम गरेको जानकारी गरायो। साथै विपद् जोखिम न्यूनीकरण, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, बाल संरक्षण र दिगो विकासलाई अन्तरविषयगत रुपमा समेटिएको उल्लेख गरियो।
कार्यक्रमको उद्घाटन अध्यक्ष आमोद कर्माचार्यले संस्थाले गरेका कामको भिडियो शुभारम्भ गर्दै गर्नुभयो।
कार्यक्रममा कोषाध्यक्ष नवराज पौडेलले ४ करोड ८० लाख ५२ हजार ७२७ आम्दानी र ३ करोड ९६ लाख ३८ हजार ९५५ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयाे । लेखापरीक्षक सुजन सुवेदीले संस्थाको लेखा प्रणाली उत्कृष्ट, प्रविधिमैत्री र वित्तीय त्रुटीमुक्त रहेको निष्कर्ष सुनाउनुभयाे ।
कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै नदी सफाइ, अनौपचारिक सरसफाइ कर्मीहरूको अधिकार र स्वास्थ्य सुरक्षाको प्रवर्द्धन, युवा–महिला लक्षित उद्यमशीलता तथा नेतृत्व विकास, जलवायु न्यायका लागि क्षमता विकास, विद्यालय–समुदाय र स्थानीय सरकारसँग सहकार्यमा गरिएको शून्य फोहर कार्यक्रम लगायतका उपलब्धी प्रस्तुत गर्नु भएको थियाे ।
गत वर्ष मात्र ३ हजार ६ सयभन्दा बढी अभियानकर्मीको सहभागितामा १५० टन फोहर संकलन, ५०० जनालाई प्लास्टिक व्यवस्थापन तालिम, ५३० जनालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण, ४६८ जनालाई सामाजिक सुरक्षा योजनामा आवद्ध, २२०० बिरुवा रोपण, २६५ जनाको क्षमता विकास, ४५ सरसफाइमा संलग्न महिलालाई स्वास्थ्य सेवा र ५७ विद्यालयमार्फत हजारौँ विद्यार्थीलाई शून्य फोहर कार्यक्रमबाट लाभान्वित गराइएको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा बाेल्ने बक्ताहरुले संस्थाको कामको प्रशंसा गरेका थिए ।
ललितपुर महानगरपालिकाका वातावरण सरसफाइ शाखा इन्जिनियर प्रदीप अमात्यले क्लिनअप नेपालको कामले हाल गैरसरकारी संस्थाप्रति देखिएको अविश्वासलाई विश्वासमा बदल्ने काम गरेको बताउनुभयो । त्यस्तै काठमाडौं महानगर वातावरण विभाग महाशाखा प्रमुख सानुमैया महर्जनले नदी सफाइ र फोहर व्यवस्थापनमा संस्थाको योगदानको उच्च मूल्यांकन गर्दै दीर्घकालीन स्रोत खोज्न सुझाव दिनुभयाे ।
समाज कल्याण परिषद्का बोर्ड सदस्य नारायण गिरीले हाल सरकार र संसद्बाट गैरसरकारी संस्थाको भूमिकामाथि प्रश्न उठाइएका बेला क्लिनअप नेपालको प्रगति र सुशासनप्रतिको कार्य सिक्न लायक भएको बताउनुभयाे। दातृ निकायबाट स्रोत संकुचन भइरहेका सन्दर्भमा कोकाकोला फाउन्डेसन र स्ट्यान्डर्ड चार्टर्ड बैंक जस्ता निजी क्षेत्रसँग सहकार्य गरेर गरेको कार्य उल्लेखनीय रहेको उहाले बताउनुभयाे ।
त्यस्तै आईडिइएका कार्यकारी निर्देशक हंशराज जोशीले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै क्लिनअप नेपालले प्राप्त स्रोतको प्रभावकारी उपयोग, सरोकारवालासँगको समन्वय र संस्थागत सुशासनमा उत्कृष्ट अभ्यास गरेको बताउनुभयो ।
कार्यक्रममा आईएम स्वीडिस, पिपल इन निड, इसिमोडसहितका साझेदार संस्था, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको सहभागिता थियो।
२०७१ साल जेठ ८ गते स्थापना भएको यस संस्थाले “स्वच्छ र स्वस्थ नेपाल” को दृष्टिकोणसहित वातावरणीय सुशासन र समुदाय–आधारित समाधानलाई अगाडि बढाउँदै आएको छ।

