
भदौ २४ गते दाङमा जेनजी आन्दोलनका क्रममा ६ घण्टाभित्र ४७ सरकारी कार्यालयका भवन र १८९ सवारी साधनमा आगजनी तथा तोडफोड भएको छ।
दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म चलेको आन्दोलनमा उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला समन्वय समिति, ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकासहितका भवनहरूमा व्यापक क्षति पुगेको छ।
प्रारम्भिक विवरणअनुसार ४० वटा चारपाङ्ग्रे सवारी साधनमध्ये ३३ वटा सरकारी गाडी रहेका छन्। अन्य टिप्पर, दमकल, स्काभेटर, ट्याक्टर, लोडर र ट्याङकर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार निजी निवास, पार्टी कार्यालय र अन्य संस्थामा भएको क्षतिको विवरण संकलन जारी छ र आर्थिक मूल्यांकनपछि मुआब्जा प्रक्रिया अगाडि बढाइनेछ।
प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार

