
दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। घोराही उपमहानगरपालिका–१ चितुवाटारीका ६४ वर्षीय ढाललबहादुर चौधरीको हत्या आरोपमा उनकी पत्नी ६२ वर्षीया छायादेवी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार शनिबार राति श्रीमान–श्रीमतीबीच सामान्य विवाद हुँदा झगडा बढ्दै गएपछि छायादेवीले टर्चलाइट प्रहार गरेकी थिइन्। टर्चलाइटको प्रहारबाट गम्भीर घाइते भएका ढाललबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट टर्चलाइट बरामद गरी छायादेवी चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रकाशित मिति : २०८२ असोज १९ गते आइतवार

