आज देशभर भाइटीका पर्व मनाइँदै,भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे



नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर श्रद्धा, आस्था र निष्ठाका साथ भाइटीका पर्व मनाइँदै छ।

कार्तिक शुक्ल द्वितीयाका दिन पर्ने भाइटीकामा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने परम्परा रहेको छ। टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११:३९ बजे रहेको छ। ज्योतिषाचार्यहरूका अनुसार टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने परम्परा छ।

आज दिदीबहिनीहरूले मंगलबार लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दाजुभाइलाई तेलको धाराले छेकी मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिने गर्छन्।

भाइटीकामा रातो, सेतो, पहेंलो, हरियो र निलो गरी पाँच रङको टीका लगाउने शास्त्रीय मान्यता रहेको छ। टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी आदि खानाका साथै आशिर्वादस्वरूप दक्षिणा र कपडा आदानप्रदान गर्ने धार्मिक एवम् सामाजिक परम्परा रहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्