प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको बढ्दो चाप कम गर्न सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

राप्ती उपत्यकामा मंगलबार आयोजित प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा सञ्चालन गर्नेगरी योजना बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले जनशक्ति पर्याप्त भए पनि बिरामी सहज रूपमा सेवा पाउन नसकेको बताउँदै सेवा प्रभावकारी बनाउन रचनात्मक ढंगले कार्य गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले जिल्ला अस्पतालमै उपचार गर्न सकिने बिरामीलाई अनावश्यक रूपमा प्रादेशिक अस्पताल पठाउने र निजी अस्पतालमा रिफर गर्ने प्रथा रोक्न निर्देशन दिनुभयो । उहाँले स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै मातृ–शिशु मृत्युदर घटाउन, पोषण सुधार र जनचेतना अभिवृद्धिमा ध्यान केन्द्रित गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रमुख सचिव बावुराम अधिकारी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याललगायतले स्वास्थ्य सेवा विस्तार र नतिजा केन्द्रित योजना कार्यान्वयनमा जोड दिनुभयो ।

वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ५० शैयाको भालुवाङ अस्पताल सञ्चालनमा ल्याएको, मृगौला डायलाइसिस सेवा नवलपरासी, कपिलवस्तु र अर्घाखाँचीमा विस्तार गरेको, आठ जिल्लामा ‘राेभिङ नर्स’ कार्यक्रम सञ्चालन गरेको र लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु गरेको जनाएको छ ।

त्यसैगरी गुल्मी अस्पतालमा विद्युतिय स्वास्थ्य अभिलेख प्रणाली लागू, स्वर्णप्राशन कार्यक्रमका लागि स्तरीय कार्यविधि र ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्ययोजना २०८१–२०८६’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्