दाङमा आत्मनिर्भर लघुबित्त चौथो पटक सम्मानित



आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड यस वर्ष पनि जिल्लामा सर्वाधिक आयकर बुझाउने संस्थाको रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८२ का अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आयोजना गरेको  कार्यक्रममा संस्थाका सिईओ सोगतबीर चौधरीलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो।

आन्तरिक राजस्व कार्यालयका प्रमुख श्रीधर टण्डनको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आत्मनिर्भर लघुबित्तले ३ करोड ७६ लाख ६५ हजार ८१८ रुपैयाँ ५६ पैसा आयकर दाखिला गर्दै लगातार चौथो पटक सम्मान पाएको हो।

कार्यक्रममा सिईओ चौधरीले ग्रामीण महिला उत्थान केन्द्र (स्थापना: २०५१) बाट सुरु भएको यात्राले २०६० सालदेखि १७ सय रुपैयाँ पूँजीबाट महिलालाई उद्यमी बनाउने अभियान सुरु भएको स्मरण गराउँदै हाल संस्था लुम्बिनी प्रदेशको ‘घ’ वर्गको बैंकका रूपमा ५५–६० हजार महिलासँग सहकार्य गर्दै आएको जानकारी दिनुभयाे।

संस्थाले दाङ, बाँके र बर्दिया जिल्लाका २२ शाखामार्फत साना व्यवसायी तथा उद्यमी महिलालाई धितो र बिना धितो कर्जा प्रवाह गर्दै आएको छ। साथै सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, विपन्न समुदायका लागि सहयोग, कर्जा बीमा, सुत्केरी सुविधा, ग्राहक संरक्षण तालिम, विपत्कालीन सेवा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।

महिलालाई उद्यमशील बनाउँदै उत्पादन तथा बजार व्यवस्थापनमा समेत सहयोग गर्दै आएको संस्थाले निरन्तर सम्मान पाउनु गर्वको विषय भएको बताउँदै सिईओ चौधरीले पारदर्शी र उत्तरदायी ढंगले राष्ट्र निर्माणमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सुरक्षा निकाय, सरकारी कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकार महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस्