ओरेक दाङले गर्याे बिधालयमै पुगेर बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक सडक नाटक



लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला पुनःस्थापना केन्द्र (ओरेक) दाङले बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक सडक नाटक प्रस्तुत गरेको छ।

दङ्गिशरण गाउँपालिका ३ स्थित वीरन्द्र माध्यमिक विद्यालय, हेकुलीमा “प्रविधिको सहि सदुपयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ” तथा “व्यवस्था मात्र होइन, सोचमा सुधार गरौँ: युवा–महिला नेतृत्व नै हो सामाजिक रूपान्तरणको अभियान” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पीमा खड्काले किशोरकिशोरीहरूमा समयमै चेतना जगाउन सके बालविवाह नियन्त्रण हुन सक्ने बताउनुभयाे।  “जबसम्म अभिभावकहरू आफ्ना छोराछोरीप्रति जिम्मेवार हुँदैनन्, तबसम्म बालविवाह न्यूनीकरण सम्भव हुँदैन, र यही कारणले लैङ्गिक हिंसा नियन्त्रणमा कठिनाइ पैदा हुन्छ।” – उहाँले भन्नुभयो ।

वडा नं. ३ का वडा अध्यक्ष सुकलाल चौधरीको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक लक्ष्मण बस्नेत तथा निवर्तमान प्रधानाध्यापक खिमराज खनालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा आयोजना गर्न सके विद्यार्थीमा मार्गदर्शन र चेतना दुवै बढ्ने उनीहरूको भनाइ थियो। उनीहरूले ओरेकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य जारी रहने प्रतिवद्धता जनाए।

महिला मानव अधिकार रक्षक नेटवर्क सञ्जालका पदमा चौधरीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विद्यालय र समुदाय स्तरमा लैङ्गिक हिंसा विरुद्धका अभियान अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे ।

ओरेककी पूजा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खुशीराम चौधरीले गर्नु भएको थियाे। शक्ति युवा सञ्जालकी मुना विक नेतृत्वको टोलीले बालविवाह तथा लैङ्गिक हिंसाका असरबारे केन्द्रित सडक नाटक प्रस्तुत गरेका  थिए।

ओरेक दाङकी कार्यक्रम संयोजक कल्पना चौधरीका अनुसार १६ दिने अभियान अन्तर्गत  तुलसीपुर, बबई, शान्तिनगरलगायत क्षेत्रमा समेत विद्यालयमै पुगेर सचेतनामूलक सडक नाटक प्रस्तुत गरिनेछ। अभियानकै क्रममा आज दङ्गिशरणमा बालविवाह न्यूनीकरण सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हाे ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्