तुलसीपुरमा सामुदायिक वन डाटा पोर्टल तालिम सम्पन्न



दाङ, सल्यान र रोल्पाका छ स्थानीय तहका प्रतिनिधिलाई लक्षित गरी सामुदायिक वन डाटा पोर्टल सञ्चालन तथा हस्तान्तरण सम्बन्धी तालिम सोमबार तुलसीपुरमा सम्पन्न भयो।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, ग्रीन फाउन्डेसन नेपाल र सिप्रेडको संयुक्त आयोजनामा भएको तालिममा वन वातावरण समिति संयोजक, सूचना प्रविधि अधिकृत तथा स्थानीय वन महासंघका अध्यक्षहरू सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपमेयर श्यानी चौधरीले डिजिटल पोर्टलले वन क्षेत्रका तथ्याङ्क व्यवस्थापन र निर्णय प्रक्रियामा नयाँ विश्वासिलो मोडेल प्रदान गर्ने बताउँदै प्रविधिमैत्री पहललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता जनाउनुभयाे।

दाङ जिल्ला वन महासंघका सचिव राधा बिष्टले सामुदायिक वन डाटा पोर्टलले देशभरका वनसम्बन्धी विवरण एकीकृत रूपमा सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गर्नुभयाे ।

तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सबिन केसीले अब फाइल कागज खोज्नुपर्ने झन्झट हटेर एक क्लिकमै सम्पूर्ण विवरण हेर्न सकिने बताउनुभयाे ।

तालिम दाङका तुलसीपुर, दंगीशरण, शान्तिनगर, बबई; सल्यानको कपुरकोट र रोल्पाको रुन्टिगढी गाउँपालिकाका प्रतिनिधिलाई लक्षित थियो।

तालिमकाे प्रशिक्षकमन फेकोफन नेपालका सूचना प्रविधि अधिकृत सन्देश चौधरी रहनुभएकाे थियाे । तालिमका ग्रीन फाउन्डेसनका क्लस्टर परियोजना संयोजक दिपक परियारले सहजीकरण गर्नु भएको  थियाे ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्