
तुलसीपुरमा सञ्चालन हुन लागेको ‘प्रथम तुलसीपुर महोत्सव’ मा स्थानीय किसानलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सवमा कृषिजन्य वस्तुको बिक्री वितरण र प्रवर्द्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
महोत्सवमा साढे चार सय स्टल रहनेछन्, जसमा स्थानीय किसानले उत्पादन गरेका कृषि उपज र महिला उद्यमीका हस्तकलाका सामग्रीलाई विशेष प्राथमिकता दिइनेछ । स्टलमार्फत बढी बिक्री गर्ने कृषक समूहलाई पुरस्कारको व्यवस्था पनि गरिएको आज पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिइएकाे हाे ।
महोत्सव पुस ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म एक सयभन्दा बढी स्टल बुकिङ भइसकेका छन् भने तयारी करिब ८० प्रतिशत सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा नेपालमै पहिलो पटक ‘युवा उद्यम नयाँ प्रवर्द्धन छनोट प्रतियोगिता’ पनि आयोजना गरिनेछ ।

