
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार दुर्घटनामा घाइते भएका आठ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। हालसम्म घाइतेहरूको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार बस आज आइतवार दिउँसो करिब साढे १२ बजे घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका १६ रावतगाउँ चोकमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार

