दलित महिलालाई उद्यमी बनाउन फेडाेद्वारा बिउँ पुँजी वितरण



दलित महिला संघ दाङले दलित महिलालाई उद्यमी बनाउने उद्देश्यसहित बिउँ पुँजी वितरण गरेको छ। सहयोग फाउन्डेसन फर द जस्ट सोसाइटीको सहयोगमा तथा दलित महिला संघ दाङको आयोजनामा सोमबार तुलसीपुर उपमहानगरपालिका भित्रका विपन्न दलित महिलालाई उद्यममा जोड्न बिउँ पुँजी सहयोग गरिएको हो।

संघले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका २५ जना दलित महिलालाई जनही ५० हजार रुपैयाँका दरले बिउँ पुँजी हस्तान्तरण गरेको संघका अध्यक्ष युवा कराराले जानकारी दिनुभयो। अध्यक्ष कराराले प्राप्त रकम उद्यम सञ्चालनमै सदुपयोग गर्न आग्रह गर्दै रकमको सही प्रयोग भए नभएको स्थानीय सरकारसँगको समन्वयमा अनुगमन गरिने बताउनुभयो।

बिउँ पुँजी वितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले यस विउँपुजि कार्यक्रम मार्फत समाजमा उदाहरणीय महिला उधमी बन्न आग्रह गर्नुभयाे ।

वडा नम्बर १० का अध्यक्ष यमराज केसीले वडामा आर्थिक स्राेत कम भएपनि दलितहरुकाे आएस्राेत बढाउन न्यून स्राेतका बिचमा पनि कार्यक्रम भइरहेकाे बताउनुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता खेमराज विश्वकर्माले बस्ती तथा सम्भाव्यता अध्ययन गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बजेट भए पनि कार्यान्वयन परिणाममुखी हुनुपर्ने र अनुगमनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियारले व्यवसाय सुरुवातदेखि नै नाफामुखी सोचका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी दंगिशरण गाउँपालिका कार्यपालिका सदस्य शितारा नेपाली, वडा नम्बर ९ की वडा सदस्य दिल कुमारी परियार र वडा नम्बर ३ की वडा सदस्य दिल माया नेपालीले महिलालाई उद्यमशील बनाउने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।


तीन दिनसम्म सञ्चालन गरिएको तालिमपछि महिलालाई बिउँ पुँजी उपलब्ध गराइएको हो।

दलित महिला संघ दाङले स्थानीय तहसँगको सहकार्यमा दाङका विभिन्न पालिकामा दलित महिलालाई उद्यममा जोड्न बिना धितो कर्जाको रूपमा आवश्यक रकम सहयोग गर्दै आएको जनाएको छ। संघबाट प्राप्त रकमले महिलाले बाख्रापालन, बंगुरपालनदेखि पानीपुरीजस्ता साना व्यवसाय सञ्चालन गरी आर्थिक मुनाफा लिन थालेका छन्।

कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्