
देशका विभिन्न भागमा मनसुनी प्रणालीको प्रभावसँगै चट्याङसहितको वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुनी वायुको प्रभाव छ भने देशको पश्चिमी भूभागमा पश्चिमी तथा स्थानीय वायुले आंशिक प्रभाव जमाएको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव नेपालमा परेको छ।
यसको असरस्वरूप देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहँदै आएको छ। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको जानकारी प्राप्त भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताइएको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।महाशाखाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

