
नेकपा एमाले भित्र अत्यन्तै अध्ययनशिल , प्राज्ञ, संघर्षशिल , स्पष्ट वक्ता र जुझारु स्वभावको परिचय बनाएकी आदरणीय नेतृ डाक्टर बिन्दा पाण्डे ज्यू द्वारा लिखित “आश्रय सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे ” नामक पुस्तक अध्ययन पश्चात् सो बारेमा एक पाठकिय बिचार टिप्पणी राख्ने कोशिस गर्दैछु ।
लेखिकाका यस अघि “समानताका पाइलाहरु ,धर्ती माथीको दाबी र संसदीय राजनीतिमा लैङ्गिक सहभागिता नामक पुस्तकहरु र विभिन्न पत्रपत्रिकामा बिचार आलेख समेत प्रकाशित छन् र हुन्छन्
प्रस्तुत पुस्तक पाँच खण्डमा विभाजित रहि पहिलो र दोस्रो खण्डमा नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना कालदेखिका महत्वपूर्ण सवाल र ऐतिहासिक सन्दर्भका घटना प्रक्रियाको बारेमा बिबेचना गरिएको छ।
जसमा कम्युनिष्ट पार्टीको स्थापना, प्रथम सम्मेलनदेखि मालेको चौथो महाधिवेशनसम्म आइपुग्दा मदन भण्डारीको उदय सहित त्यो बेलामा भएका कम्युनिष्ट पार्टी बीचका अनेकौं विवाद, नेतृत्व तहमा ब्यक्तित्व टकराव ,इगो ,टुटफुट,एकअर्कालाई कारबाहीको शृंखला के कस्ता रहे भएका थिए ? २०१५ सालमा कम्युनिष्ट पार्टीका उम्मेद्वार, विजेताका नाम र अवस्था ,२०१७ सालको राजा महेन्द्रको सैनिक कुमा कम्युनिष्ट पार्टीको दृष्टिकोणदेखि देशका विभिन्न भागमा चलेका र चलाइएका आन्दोलन, देशव्यापी किसान आन्दोलनका क्रममा गिरफ्तार भएर सुखानीको जंगलमा हत्या गरिएका शहीद, चर्चित नक्खु जेल ब्रेकको घटना, रत्न बान्तवा, ऋषि देवकोटा, नेत्र पौडेल लगायतको शहादत ,०३६ को विद्यार्थी आन्दोलन, २०४६ र २०६२/६३ को जनआन्दोलनका घटना प्रक्रियाको बारेमा पुस्तकमा यथेष्ट चर्चा गर्ने प्रयास गरिएको छ ।
पुस्तकको तेस्रो, चौथो र पाँचौं खण्डमा भुइँमान्छेका कथा छन् । जसमा तत्कालीन को–अर्डिनेसन केन्द्र हुँदै नेकपा माले, मुक्ति मोर्चा , मार्क्सवादी लगाएत पार्टी एकता हुँदै अहिलेको नेकपा एमाले गठनको सुरुवाती चरणदेखि यहाँसम्म ल्याइपुर्याउन महत्त्वपूर्ण र अहं भूमिका खेल्ने समर्थक , शुभेच्छुक ,सहयोगी, आश्रयदाता, योद्धा, नेता तथा कार्यकर्ता शहीदहरू र भुइँमान्छेहरुको प्रतिनिधिमूलक कथा समेटिएका छन् ।
यसरी यो किताब नेपालको लोकतान्त्रिक आन्दोलन त्यसमा पनि तत्कालिन मा. ले धार ( हाल एमाले र एकीकृत समाजाबादी ) को ईतिहास झल्काउने एक पढ्नै पर्ने दस्ताबेजको रुपमा खडा भएको छ ।
पुस्तकमा एमाले र माओवादी बीचको लहडपूर्ण पार्टी एकता के कुन स्वार्थबाट प्रेरित भै कसरी सम्पन्न भयो ? र के कुन कारणले विघटनको स्थितिमा पुग्यो ?यसबारे पनि चर्चा गरिएको छ ।
पुस्तकमा शुरुमा राणा शासनको बिरोध र अन्त्यका लागि को कस्को नेतृत्व र पहलकदमीमा मोर्चा गठन वा पार्टी गतिविधिहरु संचालनमा आए ? नेकपा स्थापनाका लागि भएका गतिविधिमा को कस्को उल्लेख्य भूमिका के कस्तो रह्यो ? भारतिय पुजिपतीको नियन्त्रणमा रहेका जुटमिल कपडा र चिनी कारखानामा कार्यरत श्रमिकहरु माथि त्यसका संचालक र मालिकहरुले के कस्तो व्यबहार रुख अपनाउथे ?गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले बिराटनगरमा आइ मजदुर संगै काम गर्नुको खास मकशद के थियो ? उनीहरुको नेतृत्वमा भएको मजदुर आन्दोलनले राणा बिरोधि जनमत तयार गर्न के कस्तो भूमिका खेल्यो ? वामपन्थी राजनीतिक आन्दोलन बिस्तारमा तत्कालीन शिक्षकहरुले खेलेको अतुलनीय र प्रभावकारी भूमिकाको बारेमा चर्चा गर्दै शिक्षकबाट विद्यार्थी र बिद्यार्थीबाट अभिभावक हुँदै कसरी निरंकुश र एकदलिय पंचायत बिरोधि राजनीति गाउँघर र बस्तीमा पुग्न सफल भयो ? यसबारे चर्चा गरिएको छ । यसबारे पनि प्रकाश पारिएको छ ।
२००८ माघ १० गते नेकपा माथी प्रतिबन्ध लगाए पछि तत्कालीन पार्टी नेतृत्व भुमिगत राजनीति गर्न बाध्य हुनुपर्ने अबस्थामा पार्टीका समग्र गतिविधि संचालन गर्न आम नागरिक संग सम्पर्क बढाउन र पार्टी निर्माणमा जुट्ने हेतु तराईका बारा पर्सा , सुनसरी ,रौतहट , सर्लाही , सिराहा, सुदुर पश्चिमका बाजुरा , बैतडी , अछाम , कैलाली , कन्चनपुर ,मध्य पश्चिमका दाङ , बर्दिया, नवलपरासी र बाग्मतिका चितवन लगाएतका जिल्लाहरु परिचालित भै पहाडमा सामन्तहरुको जालझेल र तराईमा जमिनदारहरुको शोषण र अत्याचार बिरुद्ध जन अधिकार मंच खडा गरि किसान आन्दोलनलाई घनिभुत तरिकाले अगाडि बढाएको र सो आन्दोलनमा आम जनताको सहभागिता उपस्थिति के कस्तो रहयो ? को कस्को नेतृत्व र अगुवाईमा किसान आन्दोलन अगाडि बढ्यो ?आन्दोलनमा सहभागीता र सहयोग गरेवापत प्रशासनले गरेको धरकपड र यातना कस्तो रह्यो ? त्यस आन्दोलनले कसरी तत्कालीन शासक बिरुद्ध चेतना जागरण गर्न सघाउ पुर्यायो ? शुरुवातमा जुन उत्साह , अभिरुचि ,जांगर र तिब्र परिवर्तनको हुटहुटी सहित किसान आन्दोलनमा होमिएका क्रान्तिकारी जोधाहाहरुमा के कुन कारणले पछिल्लो समयमा शिथिलता छायो र आन्दोलनले गति र लय समात्न सकेन ?
त्यसैगरी पुस्तकमा तत्कालीन समाजमा बाहुन क्षत्री नेवार समुदायका मान्छेले हलो जोत्न हुन्न भन्ने संस्कार तोद्डै २००६ सालमा लमजुङ दुराडांडामा बाहुन परिवारका तोयानाथ अधिकारी
शेषकान्त अधिकारी र राम प्रसाद खनाल अनि २००७ सालमा तनहुँ मानपुरका नेवार समुदायका १०३ परिवारले कसरी हलो जोति सामाजिक बिद्रोहका संखघोष गरेका थिए ? यसबारेमा पनि चर्चा गरिएको छ ।
त्यसैगरी पुस्तकमा हिजो पार्टी प्रतिबन्धित अबस्थामा श्रमजीवी बर्गका मान्छेहरुले आफू आबद्ध पार्टीका नाममा कसरी पेट काटेर सहयोग गर्थे ? त्यस अबस्थामा पनि पार्टीले वैदेशिक सम्बन्ध र समन्वयलाई कसरी अगाडि बढायो ? पार्टी भित्रैबाट आन्तरिक कुराको गोपनियता कसरी बाहिर निक्लन्थो ? बिश्वास गरेका नेता तथा कार्यकर्ताहरु समेत कसरी सिआइडिको भूमिका निर्वाह गरि पार्टी भित्रका आन्तरिक गोपनियता कार्य संचालन बिधिका कुरा बाहिर लागि नेतृत्व र समग्र पार्टी गतिविधि प्रभावित पार्ने कोशिस गर्थ ? पार्टी अनुशासन उलंघन गरेवापतका स्पष्टीकरण ,कारवाही प्रक्रिया के कस्ता रहने गर्थे ? पार्टीका जिम्मेवार तहमा रहेका पुरुष नेताहरु समेत कसरी आफू आस्रय लिइरहेको घरका महिला उपर यौन आशयका साथ प्रस्तुत हुने गर्थे? र महिला हिंसा तथा यौन दुव्र्यवहार जस्ता सांस्कृतिक बिचलनका समस्याहरु देखापरे पछि त्यस प्रबृत्तिमा संलग्न उपर स्थानीय पार्टी कमिटीले मृत्युदण्डको सजाय हुने सिफारिस उपरको बिमर्शमा ती कसरी बछे ?त्यस समयमा आर्थिक , चारित्रीक र नैतिक पतन हुने खालका क्रियाकलापले कसरी घर गर्थे ? भन्ने बारेमा पनि चर्चा गर्ने प्रयास गरिएको छ ।
पुस्तकमा पार्टी प्रतिबन्धको अबस्थामा पार्टी निर्माण र राजनीति गतिविधिलाई अगाडि बढाउनेक्रममा पंचायती ब्यबस्था अन्तर्गतको कानुन र प्रशासनले त्यसका नेता तथा कार्यकर्ता र समर्थक समेतलाई जुनसुकै बेला सोधखोज, खानतलासी ,निगरानी, धरकपड,जेलनेल र यातना दिन सक्ने सम्भावना र स्थिति रहेर पनि तत्कालीन नेकपा मालेको पार्टी भेला , प्रशिक्षण र अधिबेशनहरु कुनै बिदेशी भूमिमा नभै, नगरी नेपालमै किसान, मजदुर आदिवासी जनजाति ,मधेशि, दलित , महिलाहरुकै बीचमा सम्पन्न भएको खुलासा र अबस्था सिर्जनाबारे पनि प्रकाश पारिएको छ ।
त्यसैगरी पुस्तकमा हिजो पार्टी प्रतिबन्ध र नेताहरू भूमिगत रहन बाध्य हुनुपरेको अबस्थामा पार्टी राजनीतिलाई निरन्तरता दिन संगठन बिस्तार तथा सुदृढीकरण अभियानमा जनताको घर आंगन र गाउँबस्तीमा चाहार्दा जुनरुपले नेता तथा कार्यकर्ता बिच एकापसमा सद्भाव, भाइचारापन, कम्रेडलि व्यबहार, सामुहिक प्रतिबद्धता ,आत्मीय र सहयोगी व्यबहार हुने गर्थ्यो आज त्यो सबै नामेट हुँदै किन श्रद्धा, सम्मानमा अरूचि र अबिश्वसनिय वातावरण सिर्जना हुँदै छ ?नेता तथा कार्यकर्ता र भुइँमान्छे बिचका सम्बन्ध टुट्दो र सांघुरो हुदै छ ? नेता तथा कार्यकर्ता बिच टुट्दो सम्बन्धकै कारण कसरी एक अर्कालाइ खुइल्याउने अबिश्वास भाव प्रकट गर्ने, बिपक्षीहरु संग आफ्नै नेता तथा कार्यकर्ताको कमि कमजोरीबारेमा अनावश्यक टिप्पणी गर्ने , सार्बजनिक स्थानमा आलोचना र निन्दा ओकली पार्टी हित बिपरितका कामकारबाही गर्ने प्रबृत्ति बढ्दो छ ?
अनुशासन र गोपनियताका कुरालाइ शिरोपर गरि त्यसैअनुसार चल्नुपर्नेमा असम्बन्धित ठाँउमा अभिव्यक्त हुने र बिपक्षीहरुको क्याबात र स्याबासि पाई मखलेल हुने प्रबृत्ति किन झ्याङ्गिदो र मौलाउंदो छ ?हिजो पार्टीका नीति निर्देशन मूल्य मान्यता बिचार र मुद्दा उपर आबश्यक प्रशिक्षण गरि गराइ शिक्षित, दिक्षित तुल्याइ एक जागरुक , चेतनशील र आलोचनात्मक चेतलेयुक्त मान्छे बन्ने बनाउने प्रक्रियाको तुफानी अभियान आज किन शिथिल र भुत्ते अबस्थाबाट गुज्रदो छ ?
हिजो रुढी अन्धबिश्वस, कुरिती ब्यथिती , अन्याय , शोषण र दलन विरुद्ध आगो ओकल्दै संग्रामी अभियानमा जुट्ने र जांगर देखाउने मनहरु आज किन लुते , दब्बु, हिन भावनाका साथ प्रकट हुँदै छन् ? हिजो आम जनताको घर आंगन, गाउँ बस्तिमा पुगि उनीहरुका दैनिकी , जीवन स्तर बुझ्दै निराशा ,बेचैनी , बेखुसी र छट्पटीलाई चिर्दै आशावाद, आड भरोसा दिइ अगाडि बढ्न उत्प्रेरित गर्ने, आटो पिठो रुखोसुखो खाइ आत्मियता साट्ने र साक्षात्कार हुन मनगर्ने नेतृत्व गण आज किन त्यस खबरबाट टाढा हुँदै शहरका रमझम महंगा होटेल रेस्टुरामा बास बसि खर्चिलो ,भड्किलो र अपारदर्शी जीवन ब्यतित गर्न लम्पट हुंदो छ ?
हिजो तपाईं , तिमी , हामी ,जस्ता आम मान्छेले प्रयोग गर्ने शब्द भाषा र लबजहरु आज किन सम्भ्रान्त बर्गले प्रयोग गर्ने अन्तर्यमा उत्पिडक भाषा खाइस्यो , गैस्यो , भुजा , ज्युनार जस्ता शब्द भाषा प्रयोग गर्न तछाडमछाड गर्दो छ ?
हिजो शोसित, पीडित , दमित, अन्याय , अत्याचारका पक्षमा मुखर रुपमा बोल्दै न्याय दिलाउन र पिडकलाई कानुनी कारबाही को दायरामा ल्याउन अगाडि सर्ने फौजी , मिलिटेन्सी जोधाहा स्वर आवज र ज्यानहरु आज किन मुक , मौन , चुप ,अनदेखा र नोमालुमको चरीत्र अभिनय गर्दै भाग्ने र उम्कने प्रयत्नमा जुट्छ ? उल्टो कयौ सवालमा पिडककै पक्षमा पैरबी गरि अन्यायिलाइ साथ र सहयोग गर्न किंचित दुख मनाउ गर्दैन ?
हिजो आफ्नो बर्ग र समुदायको हित र रक्षाको निम्ति चट्टानी अडान र दृढ संकल्पका साथ प्रस्तुत भै सोही अनुसार आगे निश्चित उद्देश्य र गन्तव्य किटानका साथ यात्रारत गर्न उत्प्रेरित गर्ने उत्सुक मनहरु आज किन हुने खाने , शोषक बर्गको ताबेदारी गर्न र उसको गुणगान गाइ गरिखाने बर्ग र त्यसका समर्थकहरुलाइ खिसिटिउरी हेला होचो र अनादर गर्न समेत उद्द्त हुंदो छ ?
त्यसैगरी पुस्तकमा आजको सिंगो एमाले धेरै भुइँमान्छेहरुको निस्वार्थ सद्भाव, त्याग,लगानी र पसिनाबाट सिंचित रहेकोेले जुन बर्ग र समुदायको उत्थानको लागि भनेर हिड्यो आज त्यही बर्ग किनारिकृत हुँदै गएको ,हुंदा खाने ,गरिखाने बर्गबाट टाढिएर हुनेखाने ,साहु महाजन र संभ्रान्त बर्गको हितको खातिर टासिदै गइरहेको स्थितिमा पार्टीको स्वस्थ ज्यान र सुन्दर भबिस्यको सपना देख्दै आफ्नो उर्बर समय , अवसर लत्याइ हालसम्म पनि पार्टीमा कृयाशिल निष्ठा र दृढताका साथ लागिपरेका शुभेच्छुक कार्यकर्ताहरुको चित्त दुखाइ ,गुनासो ,आलोचना र महत्त्वपूर्ण सुझावहरुलाई पनि पुस्तक मार्फत प्रकटिकरण र बिबेचना गरिएको छ ।
यसरी आफूले मानी आएका श्रद्धा र भर बिश्वास गरेका राजनीतिक नेतृत्वको कामकारबाही र उपरोक्त प्रबृत्ति प्रती आम नागरिक ,शुभेच्छुक र भुइँमान्छेहरूले गरेको चिन्ता प्रकटका बिषयबस्तुलाइ प्रस्तुत गर्दै लेखिकाले ती गुनासो र आलोचनालाई नेतृत्वले अनदेखा, नोमालुम र चलो होजायगा बन्ने कि अबेर नगरि सच्याउने , सच्चिने वा सक्किने भन्दै पुस्तक मार्फत पार्टी नेतृत्वलाई घच्घच्याएकी छिन,आँखा जुधाएर प्रश्न गरि सचेत रहन सुझाएकी छिन ।
खासगरी वामपन्थी रुझान र कम्युनिस्ट ट्रेडमार्कका कोठरी र दुकान खोली राजनीति गतिविधि गरिरहेका पार्टी पंक्तिलाई लक्षित गरि पुस्तकको पेटबोली मार्फत उपरोक्त प्रबृत्ति सबै पार्टीमा हावी भएको भन्दै त्यसबारे गम्भीर छलफल र बिमर्शको माग गरिएको छ ।
पुस्तक पढ्दै गर्दा हिजो जहाँनिया राणा शासन ब्यबस्थाको कहर,पंचायतकालिन कालरत्री र निरंकुश ब्यबस्थाका पक्षपातीहरुले पार्टी प्रतिबन्धित गराउंदा त्यस अबस्थामा पार्टी नेतृत्व कसरी भूमिगत रहन बाध्य भयो ?आफ्नो नेतृत्वलाई तत्कालीन प्रहरी प्रशासन र गुप्तचरबाट जोगाउन कार्यकर्ता , शुभेच्छुक र आम गाउँलेहरुले के कस्तो जोखिम मोले ? खुदै केरकार, यातना र जेलनेल समेत भोग्नुपर्ने अबस्था आइलाग्यो ? पार्टी नेतृत्व र कार्यकर्ता बिच के कस्तो सम्बन्ध थियो ? हिजोको त्यो आत्मियता ,भातृत्व कमरेडलि व्यबहार , सामुहिक प्रतिबद्धता , निस्वार्थ सेवा भाव , निष्कपट निश्चल , सादा जीवन उच्च बिचार, ईमान जमानको चरीत्र र पारदर्शी व्यबहार आज किन दिनप्रतिदिन टुट्दो फुट्दो , अबिश्वसनिय , अपत्यारिलो र अपारदर्शी ढांचाकांचाको हुदो छ ?
हिजो वामपन्थी र कम्युनिस्टहरु सबैभन्दा बढी अध्ययनशिल , विनम्र , कर्मवीर, परिश्रमी , मिहिनेती, जांगरिला, आर्थिक नैतिक र चारीत्रिक शुद्धतालाइ सदा शिर माथी राखी तपसिल बमोजिम काम गर्न रुचाउनेहरु हुन्छन् भन्ने एक किसिमको सकारात्मक धारणा र बिश्वासमा आज किन ठिक उल्टो सोंचमा परिणत हुंदो छ ? पार्टीको नेतृत्व तहमा रहेका साथीहरूको खुदै आचरण व्यबहारमा संगति कायम गर्न नसकेकोले त्यसको समग्र असर पार्टीको साख गिर्नु संग जोडिएकोमा किन नेतृत्वले त्यस प्रबृत्तिलाई समयमै सच्चिन र सच्याउन पहल गर्दैन ?
स्वयंमा आलोचना ,आत्मालोचनाको बिचार मंथन र समिक्षामा जुट्न मन्जुर गर्दैन ?भन्दै लेखकले यसबारेमा पुस्तक मार्फत आफू आवद्ध पार्टी नेतृत्व संग प्रश्न तेर्स्याएकी छिन ।
त्यसैगरी पुस्तकमा हिजो आफ्नो आस्थावान पार्टी र नेतृत्व विरुद्ध विपक्षीबाट अनावश्यक प्रहार र झुठो प्रचार हुंदा नेता ,कार्यकर्ता र शुभेच्छुक समेत त्यस झुठो समाचार बिरुद्ध सैद्धान्तिक, बैचारिक र तार्किक रुपमा प्रतिबादमा उत्रने गरेकोमा आज किन मुक , चुप र मौन रहदै उल्टै विपक्षीको स्वर आवाज संग ऐक्यबद्धता र समर्थन जाहेर गर्न मन गर्दो छ ?
हिजो सिद्धान्त ,आदर्श , बिचार , निष्ठा , दर्शन , मूल्य , थिति , विधि र नितिको अधिनमा रहि तदनुकुल आचरण व्यबहार पर्दर्शन गर्ने मन र ज्यानहरु आज किन दिनानुदिन सिद्धान्त , बिचार, निष्ठा , दर्शन , आदर्श , मूल्यबाट च्युत हुँदै विधि ,थिति र नीतिको उलंघन गर्न, नो मतलब राख्न बढ्ता जोडबल गर्छ ? पार्टी पद्धति को खिलाफमा जान चासो राख्छ ? उपरोक्त बिशाक्त प्रबृत्ति किन झन्झन् मौलाउदो र झ्याङ्गिदो छ ?
हिजो पार्टी नेतृत्वले नीति, निर्णयमा गरेका कमजोरी आचरण व्यबहारमा समेत कार्यकर्ताले प्रश्न उठाइ सच्चिन र सच्याउन गरेको स्वस्थ र मैत्रीपूर्ण आलोचना , आत्मालोचनाका जिबन्त र गतिशील प्रक्रियाहरु आज किन अबरुद्ध भै राखेका छन् ? कथं फरक मत र असहमति राख्नेहरुलाई किन टेढो नजर लागाउंदै देख्लास पख्लासको ध्वांस दिंदै लखेट्ने, दपेट्ने र जिम्मेवारीबिहिन बनाउने प्रबृत्तिले टाउको उठाउंदो छ ? फरक मत राखेकै आधारमा लेखक खुदै कारबाही प्रक्रियाबाट गुज्रनु पर्दो छ ?
आजको यस जमिनी यथार्थतालाइ लिएर पार्टीको जिम्मेवार निकाय र पदिय हैसियतमा रहेका मुख्य नेतृत्वहरु किन बेखबर ,अनदेखा र चलो होजायगा रुपमा प्रस्तुत हुँदै छन् ? किन उनीहरुलाई पार्टीको सग्लो, स्वस्थ र दुरुस्त ज्यान क्रमशः अस्वस्थ , दिनानुदिन कमजोर, फितलो र लुलो हुँदै गइरहेकोमा रत्तिभर चासो र चिन्ता प्रकट छैन ? किन घोच्दैन , दुख्दैन र छुंदैन ?यसबारेमा पुस्तक मार्फत गम्भीर बिबेचना गर्ने प्रयास गरिएको छ ।
पुस्तक भित्र बर्गबिहिन, शोषण उत्पिडन बिहिन , समता ,न्याय र लोक कल्याणकारी शासन ब्यबस्थाको खातिर आफूलाई समर्पित गरेका जोधाहा र योद्धाहरुको अकथनीय र अबिचलित रुपमा डटि हिंड्न सोझिएका कष्टकर र जोखिमपूर्ण पाइला र पदचापका कहानी लिपिबद्द गरिएका छन् ।
पुस्तक पढ्दै गर्दा हिजो जहानिया राणा शासन र एकदलिय पंचायती ब्यबस्था र निरंकुश राजतन्त्र कालिन शासन ब्यबस्थापनको चक्रब्युहमा फस्दा नेपाली समाज कसरी पछाडि पर्यो ? त्यस चक्र ब्युहबाट नेपाली समाजलाई छुटकारा दिलाउन, प्रजातन्त्र, लोकतन्त्र र संघिय लोकतान्त्रिक गणतान्त्रको ब्यबस्था सम्म ल्याउन नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीका मुख्य नेतृत्वले कसरी आफूलाई समर्पित गरेका रहेछन् ? कसरी आफ्ना उर्बर उमेर , जवानी ,अवसर र बैँस रित्याएका रहेछन् ? पार्टी प्रतिबन्धित हुँदाको अबस्थामा भूमिगत रहन बाध्य मुख्य नेतृत्वले के कस्ता हन्डर ठक्कर झेल्दै कसरी पार्टी राजनीति निर्माण र संगठन बिस्तारलाई अगाडी बढाउन पहलकदमी र जमर्को गरेको रहेछ ?अनि आम नागरिक र भुइँमाछेहरुले पनि आफना अग्रज नेता र अगुवाहरुलाइ जोगाउन, पार्टीको साख बचाउन के कस्तो योगदान दिएका रहेछन् ? पुस्तक मार्फत समाज परिवर्तनका पक्षपाती सबै न्यायप्रेमी आम जनमानसहरुको पहलकदमी ,नेतृत्वदायी भूमिका,सकृय सहभागिता र उपस्थितिको समुच्चय योगदानबारे यथेष्ट बिबेचना गरिएको छ ।
यसरी पुस्तक अध्ययन गर्दा एक पाठकको हिसाबले के भन्न मन लाग्छ भने आजको वर्तमान अबस्था, राजनीतिक घटनाक्रम र सत्ताको लागि छिनाझपडिको वातावरणलाई मात्र हेरि हिजो केही होईन , राजनीतिक तथा सामाजिक परिवर्तन स्वत र निरन्तर बिकासको क्रमले आएको हो , प्रमुख राजनीतिक नेतृत्व सबै खराब र नाकाम भनि जसरी अर्थ्याईंदै र आम जनमानसमा निराशा र नकारात्मक सोंच पैदा गर्ने गरि समाज भांडने जुन प्रयत्न गरिदैछ जो सर्बथा बेठीक र सिल्ली हर्कत हुँदैछ ।
बिगत इतिहास र समाज बिकास क्रममा भएका सिल सिलेवार घटनाक्रमलाई नपढ्ने र नहेर्ने अनि आजको अबस्था र तत्काल परिणामको मात्र वास्ता राखि राजनीति र प्रमुख पार्टी नेतृत्वलाई सार्बजनिक गाली, मानमर्दन गर्न रुचाउने अधैर्य स्वभावका आजका पिंढिहरु जो सूचना , प्रबिधि र इमेल ईन्टरनेटको पहुँचमा रहेका छन् उनीहरुले अनिवार्य र हिजो राजनीति दर्मियानको सिलसिलामा आफूहरुका पाइला र डोबहरु कुन बर्ग समुदाय लक्षितभै सोझिएका थिए ? गन्तव्य किटानको उठान र बैठान गर्न कहाँ चुकियो ? र किन अलमलमा परियो ? के कुन कारणले आम नागरिक र आफ्नै पार्टी समर्थक शुभेच्छुक नेता तथा कार्यकर्ताहरु समेत पार्टी नीति निर्णय र नेतृत्वका गतिविधि प्रति असन्तुष्टि र गुनासो जाहेर गरिरहेका छन् ?सच्चिन र सच्याइनुपर्ने बिषय के हुन सक्छन् ?भन्नेबारेमा यो पुस्तक अत्यन्तै उपयोगी, सङ्ग्रहनिय र पठनिय रहेकोेमा दुई मत छैन ।
पुस्तकमा हिजो पार्टी नेता तथा कार्यकर्ता र आम जनता बिच नङ मासु जस्तो फराकिलो सम्बन्ध रहेकोमा आज दुरि बढ्दै जानु हिजो देखे देखाइएका सुन्दर सपना र कोरिएका लक्ष्यहरुमा आज आकाश पातालको भिन्नता हुनु, राजनीतिक परिवर्तन पछि पनि जनताका आधारभुत आबश्यक्ता सम्बोधन गर्ने प्रयासमा नजुट्नु ,आफूले भर बिश्वास गरेका राजनैतिक नेतृत्व शासन सत्तामा पुगे पछि गरिबका झुप्रामा बिताएका क्षणहरु भुल्दै नागरिक संग प्रत्यक्ष संबाद, घुलमिल गर्न इच्छुक नहुनु , उनीहरुका पिर मार्का र गुनासोलाई सम्बोधन गर्ने कुनै चालखबर र हेलो हाय समेत नगरेकोमा,आम नागरिकका तर्फबाट सम्बन्धित पार्टी र नेतृत्व प्रति चरम असन्तुष्टि गुनासा र चित्त दुखाइ रहेकोेले यसबारेमा नेतृत्वले समयमै ख्याल बिचार पुर्याइ समिक्षा गरि आगे सच्चिने , सच्याइने प्रतिबद्धताका साथ अगाडि नबढेमा पार्टीको भबिस्य र स्वास्थ्यमा समेत गम्भीर क्षेती हुने र त्यसको असर खुदै सम्बन्धित ब्यक्ति, पार्टी , नागरिक स्तर र समाजलाई पनि पर्न जाने तर्फ लेखकले गम्भीर ध्यानाकर्षण र सचेष्ट तुल्याएकी छिन
पुस्तकमा हिजो भूमिगतकालमा जस्तो नेताहरुको जिबनशैलि दु:ख,अभाव,तन्नम, गरिबी ,कष्टकर,रोगी र फुकिढल हुनुपर्ने ,तर जीवन सुधार ,उन्नति, प्रगति,सफा र चिटिक्क परेको हुनै नहुने , मिठो मसिनो खानै नहुने संकीर्ण र सांघुरो सोंचको अर्थमा नभई कम्तीमा पारदर्शी,जवाफदेही ,जिम्मेवारीपूर्ण र पत्याउन लायक हुनुपर्ने भन्ने आम नागरिकको आलोचना र सुझाव बिल्कुलै स्वभाबिक जायज रहेकोले राजनीतिक नेता कार्यकर्ता र समाजका अगुवाहरुले त्यस तर्फ ध्यान खबर राख्न हुन र आफ्ना जिबनशैली, आचरण, व्यबहारमा तादात्म्यता र सु संगती हुनुपर्नेबारेमा पनि लेखकले सुझाएकी/ घच्घच्याएकी छिन ।
यसै वास्तविकता र यथार्थतालाइ गहिरो संग जाचपड्ताल र बोध गरेरनै लेखकले हिजो भूमिगत कालिन अबस्थामा पार्टी राजनीति निर्माण र संगठन बिस्तारको क्रममा नेताहरूले आश्रय लिएका सुदुर गाउँबस्तीहरुमा पुगि आश्रयदाता,शुभेच्छुक,समर्थक र भुइँमान्छेहरु संग प्रत्यक्ष संबादमा जुट्दै उनीहरुका गुनासा,चित्त दुखाइ ,आबेग,आलोचना र सुझावहरुलाई ग्रहण गरि तयार पारिएको कोशेली र दस्तावेजनै यो पुस्तक जन्मिनुको जग आधार हो । यसर्थ पनि प्रस्तुत पुस्तक हिजो, आज र भोलि सम्मको राजनीतिक घटनाक्रमलाइ बस्तुनिष्ठ भएर बिमर्श र मूल्याकंन गर्न
निकै उपयोगी सन्दर्भ स्रोतको राजनीतिक दस्तावेज रहेको छ भन्दा अतियुक्ती नहोला ।
जम्मामा डा. बिन्दा पाण्डे ज्यू द्वारा लिखित”आश्रय , सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे “नामक प्रस्तुत पुस्तक पठनिय र सङ्ग्रहनिय रहेकोे छ ।
राम बहादुर जि .सी. दाङ तुल्सिपुर
९८५७८९०२२४
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार

