दाङमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइयो




सरकारले कोदोजन्य बालीको उत्पादन बढाउने र आयात घटाउने उद्देश्यले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेसँगै दाङको तुलसीपुरमा पहिलोपटक दिवस मनाइएको छ।

तुलसीपुरस्थित भिक्टोरीया एकाडेमीका कृषि लोकसेवा तयारीरत विद्यार्थीहरूले ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ नारासहित दिवस मनाएका हुन्। कार्यक्रमका क्रममा कोदोबाट तयार १२ प्रकारका परिकार प्रदर्शनीमा राखिएको थियो।

संस्थाका प्रवन्ध सञ्चालक केशव लामिछानेका अनुसार, कोदो मानव स्वास्थ्यका लागि लाभदायक भएकाले यसको उत्पादनमा जोड दिनुपर्ने विद्यार्थीहरूको धारणा छ।

कृषि विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको थियो, जसको मूल्य ७६ करोड ६३ लाख रुपैयाँ बराबर छ। सरकारको नीति अनुसार अब प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइनेछ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्