
तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले हालैको आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको ठूलो क्षतिप्रति गहिरो पीडा व्यक्त गर्नु भएको छ।
सामाजिक संजालमा उहाँले २०७४ सालमा नगरप्रमुख निर्वाचित भएपछि संविधानमा आएको संघीयता र नयाँ संरचना नबनेको अवस्थामा प्रशासनिक भवन, वडा कार्यालय र अन्य सेवासुविधामूलक संरचना बनाउन थालिएको उल्लेख गर्दै अहिले ती सबै खरानी भएकोमा मर्माहत भएको बताउनुभयाे।
पाण्डेका अनुसार कोरोना महामारीकै बीचमा पनि प्रशासकीय भवन र वडा कार्यालयहरु निर्माण भएकाले नागरिकले सहजै सेवा पाउने अवस्था बनेको थियो । तर अहिले फेरि शाखा स्थापना गर्न बजारका साना कोठा खोज्नुपर्ने बाध्यता सिर्जना भएको उहाको भनाइ छ ।
आधुनिक सहरको परिकल्पनाअनुसार निर्माण गरिएको तुलसी टावर, अटो भिलेज र व्यवस्थित बसपार्क पनि तोडफोड र क्षतिग्रस्त भएको उल्लेख गर्दै उहाले भन्नुभयाे- “यी सबै तुलसीपुरका सपनाहरु थिए । यसले सबैको मन दुखेको छ । पहलकदमी लिएका कारण मेरो झनै मन मर्माहत भएको छ ।”
उहाले नगरका अन्य सरकारी कार्यालय, न्यायालय, निजी व्यवसाय र भवनहरुमा भएको क्षतिले लामो समयसम्म असर गर्ने बताउँदै आन्दोलनप्रति आफ्नो समर्थन भए पनि विध्वंशको हद नाघेर गरिएको यो आन्दोलनले ल्याउने परिवर्तनले क्षतिपूर्ति दिन सक्दैन भन्नुभयाे ।
पाण्डेले आन्दोलनका क्रममा दमकल, खोपका सामग्री, महत्वपूर्ण दस्तावेज र व्यवसायिक उत्साह सबै जलेर नष्ट भएको जनाउँदै नगरबासी निराश बनेको बताउनुभयाे। तर उहाले निराशालाई आशामा बदल्दै फेरि उभिनु पर्नेमा जोड दिनुभयाे।
उहाँले जेनजीलाइ सम्बाेधन गर्दै भन्नुभयो –
प्रिय जेन जि पुस्ता, “तपाईंहरुको परिवर्तनप्रतिको अपेक्षा प्रशंसनीय छ । तर त्यो प्राप्तिका लागि भएको विध्वंश उचित भएन । आवाज दवाउनेहरु होइन, विध्वंश घन्काउनेहरुको पहिचान गर्न जरुरी छ ।”
आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै पाण्डेले माग सम्बोधनसँगै राष्ट्रले भोगेको नोक्सानीको पुनर्निर्माणमा सहयात्राको प्रतिवद्धता जनााउनुुभयाे ।
उहाले सबैलाई मातृभूमिको माटो र ध्वस्त धरोहरको खरानी मुठ्ठीमा लिएर पुनर्निर्माण गर्ने संकल्प गर्न आह्वान गर्दै भन्नुभ याे-“जति खरानी भए पनि उभिनु नै छ । हामी फेरि उठ्छौं, धरोहर पुनर्निर्माण गर्छौं र निराशालाई आशाको घाम देखाउँछौं ।”
आदरणीय नगरबासी बुबा आमा, दाजु भाई, दिदीबहिनी र जेन जी छोराछोरीहरु,
१. २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएर आउँदा संविधानमा संघीयता आएको थियो, नया संरचनाहरु थिएनन, सबै संरचनाहरु पुरानै थिए । स्थानीय सरकारकारुपमा हामीले गर्नुपर्ने काम र जनताका अपेक्षाहरु अति धेरै थिए । सिमित बजेटका विचमा हामीले तुलसीपुरको प्रशासनीक र वडा कार्यालयहरुलाई नागरीकहरुले सहजै सेवा प्राप्त गर्ने गरी निर्माण गर्यौ । स्थानीय सरकारसँग बजेटको अभाव हुने भएकाले विभिन्न संरचनाहरु भिन्न भिन्न निकायहरु गुहारेर मेरै कार्यकालमा तुलसीपुरको प्रशासकीय भवन र धेरै वडा कार्यालयहरु निर्माण र पुनर्निर्माण भए । भलै कोरोना महामारीका कारण उक्त भवनमा म आफु बसेर सबै सेवा सुरु भएन तर पनि बजारका विभिन्न ठाउँमा साना साना कोठा खोजेर शाखाहरु राख्नुपर्ने बाध्यताको अन्त्य भएर नागरीकहरुले एकै ठाउँबाट सेवा पाउने सहजता भएको थियो । वडा कार्यालयहरुले वडामै सबै खालको सेवा दिने गरी संरचनाहरु निर्माण भएका थिए । आज सबै खरानी भएको छ । यसबाट म दुखित र मर्माहत भएको छु ! हामी फेरी बजारमा छरिएर कोठा खोज्दै शाखाहरु स्थापना गर्ने ठाउँमा फर्किएका छौ ।
२. त्यति मात्रै होइन तुलसीपुरलाई आधुनिक सहरको रुपमा पहिचान दिनका लागि व्यापारीक कम्प्लेक्सहरु र स्थानीय उत्पादनको एकिकृत बजार तथा बिक्री केन्द्रको आवश्यकता थियो । निजी क्षेत्रबाट यसखालको कम्प्लेक्स निर्माणका लागि पहलकदमी हुन नसकेपछि नगर विकास कोषसँगको सहकार्यमा तुलसीपुरको पहिचानकारुपमा तुलसी टावर निर्माण सम्पन्न भएर सञ्चालनको प्रक्रियामा रहेको थियो । यो निर्माण गर्दा मैले अनेक खालका नकारात्मक टिकाटिप्पणीको सामना गर्नुपरेको थियो । तर एकदिन अवश्य पनि यसले तुलसीपुरको व्यवसाय र स्थानीय युवाहरुमा उद्धमशिलता विकासमा महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास थियो । यसको निर्माण सम्पन्न भएसँगै विभिन्न व्यवसायीहरु यसतर्फ आकर्षित हुनुभएको थियो । ब्यवसायीहरुमा उर्जा र उत्साह पलाएको थियो । यो पनि तोडफोड भयो । ठूलो क्षति भयो । सञ्चालनको मुखैबाट हामी फेरी पछाडी फर्कने भयौ । तुलसीपुर अटो भिलेजलाई व्यवस्थापन गरेर आधुनिक र व्यवस्थित वसपार्क निर्माण गरेका थियौ । यसले तुलसीपुरको पहिचान दिएको थियो । केही थप काम गर्न बाँकी पनि थियो । तर यो पनि पूर्णता नपाउँदै नष्ट भएको छ । यी सबै तुलसीपुरका सपनाहरु थिए । यसले सबैको मन दुखेको छ । पहलकदमी लिएका कारणले मेरै झनै मन दुखेको छ ।
३. तुलसीपुरका अन्य सरकारी कार्यालय, न्यायालय, निजी व्यवसाय र भवन लगायतमा क्षति गरियो । यो क्षतिको असर हामीले लामो समयसम्म खेप्नुपर्ने निश्चित छ । जेन जीले गरेको आन्दोलनप्रति मेरो केही प्रश्न छैन ! सुशासन, समावेशिता र अभिव्यक्ति स्वतन्त्रताप्रति मेरो साथ र समर्थन छ । तर के विध्वंशको हद नाँघेर गरिएको यो आन्दोलनले ल्याउने परिवर्तनबाट अहिले भएको क्षतिको पुर्ति हुन सक्दछ ? संरचनाहरु त बन्लान तर हाम्रा इतिहास बोकेका दस्तावेजहरु कहाँ पाईएला ? आन्दोलनका क्रममा केही न केही त क्षति हुन्छ नै तर यसरी सार्वजनिक र निजी सम्पत्तिमाथि एकैपटक भएको यो क्षतिले हामीलाई दशौ वर्ष पछाडी धकेल्ने निश्चित छ ।
४. आँगो निभाउने तुलसीपुरको दमकल आफै बलेको छ । बालबालिकाहरुलाई लगाउने खोपहरु जलेर नष्ट भएको छ । निजी व्यवसायीहरुमा उत्साह हराएको छ । कर्मचारीहरुमा काम गर्ने जाँगर छैन । महत्वपूर्ण दस्तावेजहरु केही पनि बाँकी छैनन् । तुलसीपुरबासीको अनुहारमा नैराश्यता पोतिएको छ । देशकै मुख्य केन्द्रहरु जलेर ध्वस्त भएका छन् । हामीले गर्व गर्ने इतिहास र दस्तावेजहरु खरानी भएका छन् । यी निराशाहरुलाई हामीले कनिकुथी आशामा बदल्नु छ ।
प्रिय जेन जी पुस्ता ! तपाईहरुको परिवर्तनप्रतिको अपेक्षालाई प्रशंसा गर्छु तर त्यो प्राप्तिको लागि तपाईहरुको आवेगमा या घुसपैठमा जे भयो त्यो कत्ति पनि राम्रो भएन । तपाईका आवाजहरुलाई दवाएर यो विध्वशंको आवाज घन्काउनेहरुको पहिचान गरौ । जति खरानी भएपनि उभिनु नै छ । अब उभिने प्रयास गरौ ।
आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धान्जली , शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! जेन जी पुस्ताका माग सम्बोधन गर्ने र सँगै रहेर राष्ट्रले भोगेको अकल्पनीय नोक्सानीको पुनर्णिर्माण गर्ने कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु । इतिहासको यस कठिन घडिमा सबैले मातृभुमिको माटो र ध्वस्त धरोहरको खरानी मुठ्ठीमा लिएर वाचा गरौ, संकल्प गरौ – हामी फेरी उठ्छौ र हाम्रा धरोहरको पुनर्णिर्माण गर्छौ ! निराशाहरुलाई आशाको घाम देखाउँछौ । नेपाल र नेपालीको पहिचान जोगाउछौ ! यस महान यात्रामा सहकार्य र सहयोग गर्न सबैमा हार्दिक अपिल गर्दछु ! धन्यवाद
घनश्याम पाण्डे
पूर्व नगरप्रमुख
तुलसीपुर उपमहानगरपालिका

