
इलाका प्रहरी कार्यालय तुलसीपुरका नयाँ प्रमुख डिएसपी होम बहादुर पराजुलीले लागुऔषध, जुवातास नियन्त्रण र नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिने बताउनु भएकाे छ।
बिहीबार मात्रै सरुवा भई तुलसीपुर पुगेका डिएसपी पराजुलीले शुक्रबार पत्रकारसँगको भेटघाट कार्यक्रममा अपराध नियन्त्रणका लागि प्रहरी मात्र पर्याप्त नहुने भन्दै नागरिक–प्रहरी सहकार्य अनिवार्य रहेको धारणा राख्नुभयाे ।
उहाँले पछिल्लो समय जेनजी आन्दोलनका क्रममा प्रहरी जवानले ज्यान गुमाउनुका साथै प्रहरी संरचनामा क्षति पुगेकोले संगठनको मनोबलमा असर पारे पनि प्रहरी सधैं शान्ति सुरक्षा कायम राख्न तत्पर रहेको बताउनुभयाे।
आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जानकारी दिँदै डिएसपी पराजुलीले नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी सक्रिय रहेको उल्लेख गर्नुुभयाे ।
भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत,रासस प्रमुख नारायणी रजाैरे रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायत सञ्चारकर्मीहरूले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा नागरिकले सुरक्षाको अनुभूति हुने गरी काम गर्न सुझाव दिएका थिए। कार्यक्रमकाे सहजीकरण प्रहरी नायब निरीक्षक भरतनाथ योगीले गर्नु भएको थियाे।

