नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) दाङ को १० औँ जिल्ला अधिवेशन विहीबार तुलसीपुरमा सम्पन्न भएको छ । फोनिज दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रिय सचिव प्रियासनले फाेनिजमा आबद्द पत्रकारले जातिय मुद्दा भन्दा पनि समग्र सामाजिक गतिविधिमा कलम चलाउनुपर्ने बताउनुभयाे । जातीय मुद्दा मात्र संकिर्णता लादेर जनजाति मात्र समाजको मुलधारमा आउनुपर्छ भन्ने धारणा नराख्न आग्रह गर्नुभयाे ।
उहाले विज्ञान र प्रविधिको विकासले आधिकारिक र अनाधिकारिक संचार माध्यम र पत्रकार छुट्याउने वेला आएको बताउनु भयो । भाइरल हुन तथा भिउजका आधारमा धेरै रकम आर्जन गर्ने उद्देश्यले फेक तथा असत्य सुचना समाचार संप्रेशन गर्ने परिपाटीको होडवाजी नै चलेको भन्दै उहाँले सत्य, तथ्य र प्रमाणमा आधारित रहेर पत्रकारिता गर्न सुझाव दिनुभयो ।
विज्ञान र प्रविधिको विकास हुनु सकारात्मक पक्ष रहेको भन्दै प्रियासनले त्यसलाई सही तरिकाले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पहिले रेडियो, पत्रिका र टेलिभिजनमा प्रसारण तथा प्रकाशन भएपछि मात्रै आधिकारिक र सत्य समाचार हो भन्ने सोच थियो भने अहिले प्रविधिले धेरै नै फड्को मारेको अवस्था रहेको भन्दै यी प्रविधिसँग अप्डेट हुँदै पत्रकारितालाई फराकिलो बनाउँदै लैजानु पर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दिपक बोहोरा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश परिषद्का सदस्य यमकला भूषाल, पत्रकार यज्ञ बुढाले समाजमा सकारात्मक सन्देश दिने खालका सत्य, तथ्य समाचार लेख्नुपर्नेमा जोड दिदै फाेेनिजकाे नया कार्यसमिति फरक ढंगबाट कार्यक्रम गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यसैविच १० औँ अधिवेशनले दिप्तीशिखा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतीका साथ चयन गरिएको छ । जसको उपाध्यक्षमा दिपक जि. एम., सचिबमा एच.आर. मगर, सहसचिबमा जयन्ती चौधरी, कोषाध्यक्षमा निता चौधरीलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा सरिता चौधरी, प्रेमकुमारी बुढा मगर, सुरक्षा चौधरी, प्रिया चौधरीलाई चयन गरिएको छ । अधिवेशनले केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि चयन गरेको छ । जस अनुसार सबिन प्रियासन, जित सागर जि.एम., रिता लामालाई केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिमा प्रेमबहादुर राम्जा, जयन्ती चौधरी र उदिराम चौधरी चयन भएका छन् ।