अलमुताइरीलाई नेपाल फर्काउने एन्फाको तयारी



राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ।

पाँच दिनअघि बसेको एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो।

त्यहि निर्णयअनुसार एन्फा सचिवालयले हाल आफ्नो देश कुवेतमा रहेका अलमुताइरीसँग कुराकानी गरेको थियो। जसमा उनी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको भनाइ छ।

एन्फा सचिवालयले अलमुताइरीसँग पहिले छलफल गर्ने र उनको प्रतिक्रियाका आधारमा अघि बढ्ने रणनीति लिएको थियो। जसमा अलमुताइरी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको बुझाइ छ।

हाल उनी कुवेतमा उपचार गराइरहेका छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए।

एएफसी एसिया कप छनोटअघि अलमुताइरी र राष्ट्रिय टिमका १० जना खेलाडीबीच विवाद भएको थियो। विवादका कारण उनले खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिएका थिए।

त्यसपछि एन्फाले गठन गरेको कार्यदलले विवादमा आइरहने अलमुताइरीको विकल्प खोज्न एन्फालाई सिफारिस गरेको थियो।

त्यही सिफारिसअनुसार एन्फाको बैठकमा छलफल भएको थियो। छलफलपछि उनको विषयमा निर्णय गर्न एन्फा केन्द्रीय समितिले सचिवालयलाई जिम्मेवारी दिएको थियो। एन्फाले अमलुताइरीले निकालेका १० खेलाडीलाई भने राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरिसकेको छ।

एन्फा र अलमुताइरीबीच सन् २०२४ सम्मका लागि सम्झौता छ। उनलाई खान र बस्न एन्फाले व्यवस्था गरे पनि तलब भने कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। कतारले सहयोगस्वरुप प्रो-लाइसेन्सप्राप्त अलमुताइरीलाई २०७७ को चैतमा नेपाल पठाएको थियो।

गत साउनदेखि भने उनी विवादित बनेका थिए। सुरुमा उनले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिने भन्दै फेसबुकमा लेखेका थिए। तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ हाल एन्फाको अध्यक्षमा निर्वाचित भएका छन्। त्यतिबेलाका अध्यक्ष कर्माछिरिङ शेर्पासँग नजिक मानिएका अलमुताइरीले उक्साहटमा उक्त स्टाटस लेखेको आरोप लागेका थियो।

यो विवादको विषयमा गठिन छानविन समितले पनि अलमुताइरीकै दोष देखाएको थियो।

गत साता भएको एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षमा कर्माछिरिङलाई पराजित गर्दै नेम्बाङ निर्वाचित भए लगत्तै अलमुताइरीले नेपाल नफर्कने संकेत गर्दै इन्स्टाग्रममा स्टोरी राखेका थिए। तर केहीबेरमा नेपाली समर्थकलाई धन्यवाद दिएको उक्त स्टोरी उनले मेटाएका थिए।

केही दिनअघि उनले फेसबुक कमेन्टमा एक समर्थकलाई आफ्नो सम्झौता २०२४ सम्म भएको र छिट्टै नेपाल फर्कने भन्दै प्रतिक्रिया दिएका थिए। शनिबार भने उनले फेसबुकको स्टोरीमा आफ्नो लक्ष्य विश्वकप २०२६ को छनोट, एसिया कप २०२७ को छनोट र साफ च्याम्पियनसिप २०२३ भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०७९ असार १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्